धनगढीः सुदूरपश्चिम–११ स्पोर्टस क्लब पाँचौ हाइलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको शुक्रवार भएको दोस्रो सेमिफाइनल खेलमा जित हात पार्दै सुदुरपश्चिम–११ स्पोर्टस क्लब उपाधि नजिक पुगेको हो । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढी रंगशालामा भइरहेको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा पिएफए अत्तरियालाई ३–२ ले हराउँदै सुदुरपश्चिम–११ फाइनल पुगेको हो ।
उपाधिका लागि सुदुरपश्चिम–११ ले स्टार सिटी युवा क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ । शनिवार हुन लागेको फाईनल अन्तर्गत शनिवार दुवै टीम धनगढी रंगशालामा प्रतिस्पर्धा गर्नेछन् । यसअघि बिहीवार भएको पहिलो सेमिफाईनलमा स्टार सिटीले मनकामना युवा क्लबलाई ३–२ ले हराएको थियो ।
शुक्रवारको निकै प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा सुदुरपश्चिम–११ स्पोर्टस क्लब र पिएफए अत्तरियाले खेलको सुरुवातदेखि नै आक्रमक रुपमा मैदानमा उत्रिए । पहिलो हाफको १० औं मिनेटमा सुदुरपश्चिम–११ का कप्तान गजेन्द्र शाहीले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए ।
मैदानको वाया साइडवाट माधव भण्डारीले दिएको पासलाई सदुपयोग गर्दै कप्तान शाहीले गोल गरे । सुदुरपश्चिम–११ को अग्रता ६ मिनेट पनि टिकेन् । पिएफए अत्तरियाका लागि अजित गुरुङले गोल गर्दै खेल वरावरीमा पुराए । मैदानको दाँया साइडवाट दिपेश श्रेष्ठले दिएको पासलाई अजितले गोलपोष्टको दिशा दिएका हुन् ।
खेल वरावरी भएपछि अझ आक्रमक रुपमा मेदान उत्रिएको पिएफएले पहिलो हाफको २७ औं मिनेटमा अग्रता कायम गर्यो । अनुप गुरुङले दिएको पासमा डिवक्सभित्र रहेका अजित गुरुङले व्यक्तिगत दोस्रो गोल गर्दै पिएफएलाई २–१ को स्थितिमा पुराए ।
दोस्रो हाफको सुरुवातदेखि गोल गर्ने प्रयासमा दुवै टीम लागेपछि दोस्रो हाफको २२ औं मिनेटमा गोल गर्दै सुदुरपश्चिम–११ ले खेल वरावरीमा पुरायो । विदेशी खेलाडी रोमियोको हेड वललाई अर्का विदेशी खेलाडी ग्लोरीले गोल गरे ।
खेल दुई दुईको वरावरीमा भएको अवस्थामा दोस्रो हाफको ३२ औं मिनेटमा सुदुरपश्चिम–११ स्पोर्टस क्लबले गोल गर्दै फेरि खेलमा अग्रता बनायो । विदेशी खेलाडी ग्लोरीको पासमा फिलप तामाङले वललाई गोलपोष्टको दिशा दिए । त्यसपछि कुनै पनि टीमवाट गोल हुन नसकेपछि सुदुरपश्चिम–११ स्पोर्टस क्लब ३–२ ले विजयी हुँदै फाइनल पुगेको हो ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचले दुई हजार ६ सय नगद पाउनेछन ।