हाँसोमा कोरिया जाने नेपालीकाे गलामा किन हुन्छ पासो?

काठमाडौंः इपीएस प्रणालीबाट रोजगारीको लागि दक्षिण कोरिया गएका नेपाली कामदारले अत्याधिक मात्रामा आत्महत्या गरेर ज्यान गुमाउँदै गएको पाइएको छ ।

वैदेशिक रोजगार विभागले प्रकाशन गरेको आर्थिक वर्ष २०७५–२०७६ को वार्षिक प्रतिवेदनमा कालगति, सडक, कार्यस्थल दुर्घटना भन्दा आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या धेरै बढेको एक तथ्याङ्कले देखाएको हो ।

विभागको तथ्याङ्क अनुसार इपिएस प्रणालीबाट वि.सं.२००८ देखि २०१९ सम्म ६५ हजार ८४५ जना नेपाली रोजगारीमा गएकोमा १०५ जनाले ज्यान गुमाइसकेका छन् ।

तथ्याङ्कका आधारमा मृत्युको कारण नखुलेको संख्या ३४, सुतेको अवस्थामा २५ र आत्महत्या गरेर मर्नेको संख्या २० रहेको छ । त्यसैगरी, कालगतिले मृत्यु भएको संख्या तीत छभने सडक दुर्घटनामा आठ र कार्यस्थलमा ज्यान गुमाउनेको संख्या १३ जना रहेका छन् ।

कोरियामा आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या बढ्ने क्रम रहेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताउँदै यस विषयमा बोर्डले सम्बन्धित निकायसँग छलफल गरेर अनुसन्धान गरिरहेको स्पष्ट पारे ।

आत्महत्या गरेर मर्ने घटना कोरियामा जटिल समस्या बन्दै गएको बताउँदै उनले यसबारे अध्ययन गरेर चाँडै कारण पत्ता लाग्ने विश्वास व्यक्त गरे ।

कोरियास्थित नेपाली दूतावाससँग यस बिषयमा कुरा गर्दा सामाजिक लगायत विभिन्न कारण बताइए पनि एकिनका साथ भन्ने अवस्थामा नरहेको बताउँदै यो समस्या अनुसन्धानको विषय भएको उनी बताउँछ ।

कमाइको हिसाबले दक्षिण कोरिया आकर्षक गन्तव्यका रुपमा मानिए पनि मानसिक तनाव, कामको चाप, डिप्रेसनको अवस्थाका कारण आत्महत्या हुने गरेको मनोविश्लेषकहरु बताउँछन् । दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्णपछि नेपाली श्रमिकलाई कृषि र औद्योगिक क्षेत्रमा रोजगारीका लागि लैजाने गरेको छ ।

खाडी मुलुकमा कम पारिश्रमिकमा धेरै काम गर्नुपर्ने वाध्यता भन्दा कोरियामा श्रम अनुसारको पारिश्रमिक राम्रो हुने भएकाले कोरिया नेपाली कामदारको पहिलो रोजाईमा पर्दै आएको छ ।
यता, वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डितका अनुसार कोरियामा धेरै पढेका नेपाली कामदारले सामान्य पढेकासँग एउटै स्तरको काम गर्नुपर्दा धेरै पढेका कामदारलाई डिप्रेसन भएर आत्महत्या हुने एउटा कारण भएको छ ।

उनले वैदेशिक रोजगारीमा जानुअघि जाने देशको कामलगायत सबै पक्ष बुझेर मात्र जान निर्देशक श्रेष्ठको सुझाव रहेको छ ।

त्यसैगरी, वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले कोरियामा नेपालीले आत्महत्या गरेको विषयमा एक वर्ष अघि एउटा गोष्ठी समेत भएको जानकारी दिए ।

अरु देशको तुलनामा कोरियाका नागरिकले पनि आत्महत्या गर्ने गरेको बताउँदै त्यहाँका नागरिकको देखासिकी र वातावरणका कारणले नेपालीले आत्महत्या गरेको हुनसक्ने उनी अनुमान गर्छन् ।

रोजगारीको लागि अन्य मुलुकबाट त्यहाँ गएका कामदारले गर्ने आत्महत्यालाई समयसापेक्ष तुलनात्मक अध्ययन गरेर पनि कारण पत्ता लगाउनसक्ने उनको विश्वास रहेको छ ।

यस बारेमा विस्तृत अनुसन्धान गर्न जरुरी रहेको बताउँदै उनले कोरियामा रहेको नेपाल राजदुतावासले विभिन्न परामर्श सम्बन्धि अभिमुखिकरण कार्यक्रम गर्नुपर्नेमा जोड दिए । –गाेरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्