काठमाडौंः नेपाली क्रिकेट टीमका युवा अलाउन्डर कुशल मल्लले टियू क्रिकेट मैदानमा जारी आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक वानडे सिरिज अन्तर्गत अमेरिका विरुद्धको म्याचमा डेब्यू गर्ने मौका पाएका छन् । आक्रामक ब्याटिङका साथै बलिङ पनि गर्नसक्ने मल्ललाई टीम प्रशिक्षक जगत टमटाले ‘डेब्यू क्याप’ दिइसकेका छन् ।
अमेरिकाविरुद्ध उनले अर्का युवा अलराउन्डर रोहितकुमार पौडेलको स्थान लिनसक्ने छन् । मल्ल नेपाली टीमबाट अन्तर्राष्ट्रिय एकदिवसीय म्याच खेल्ने २२ औँ खेलाडी भएका छन् । उनी केही समययता राम्रो लयमा देखिएका छन् । कुशलले केही हप्ताअघि सुनसरीमा सम्पन्न एमएम कपमा एपिएफविरुद्ध ६३ बलमा १३ छक्का र ५ चौका प्रहार गर्दै १ सय ११ रन बनाएका थिए । उनले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा भने डेब्यू गरिसकेका छन् । कुशलले टी–२० मा सन् २०१९ मा जिम्बावेविरुद्ध डेब्यू गरेका थिए ।
दोस्रो म्याचमा अमेरिकाविरुद्ध नेपाल खेल्दै
त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तगर्त आज नेपालले अमेरिकन क्रिकेट टीमसँग खेल्दै छ । यी दुई टीमबीचको खेल बिहान ९ः३० बजेदेखि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा सुरु हुनेछ । जारी सिरिजमा दुवै टीम पहिलो खेलमा ओमानसँग पराजित भएका छन् ।
शनिबारको खेल दुवै टीमका लागि सिरिजमा पहिलो जित दर्ता गर्ने अवसर छ । नेपाली टीमले पहिलो खेलमा ओमानविरुद्ध बलिङ राम्रो गरे पनि ब्याटिङ भने सन्तोषजनक गर्न सकेन । विगत झैं ओमानविरुद्ध पनि ब्याटिङमा नेपालको सुरुवात निकै खराब रह्यो ।
पहिलो खेलमा नेपालले ओपनरद्वय ज्ञानेन्द्र मल्ललाई १ र पूर्वकप्तान पारस खड्कालाई ३ रनमा गुमाएको थियो । ओमान विरुद्धको कमजोर ब्याटिङलाई सुधार गर्दै नेपाल अमेरिकासँग जित निकाल्ने रणनीतिमा छ ।
अमेरिकाविरुद्ध नेपालको सम्भावित प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल ९कप्तान०, सुवास खकुरेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अविनाश बोहरा, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, र सन्दीप लामिछाने ।
नेपालविरुद्ध अमेरिकाः हेड टु हेड
२००८ डिभिजन ५ः शुरुको दुई खेल वर्षा कारण नो रिजल्ट, तेस्रो स्थानको खेलमा नेपाल ९६ रनले विजयी
२०१० डिभिजन ४ः वर्षाले खेल रद्ध, रिप्ले म्याचमा अमेरिका ५५ रनले विजयी
२०१० डिभिजन ५ः लिग चरणमा अमेरिका ५ विकेटले विजयी,फाइनलमा नेपाल ५ विकेटले विजयी
२०१२ डिभिजन ४ः लिग चरणमा नेपाल ३२ रनले विजयी, फाइनलमा नेपाल ८ विकेटले विजयी
२०१३ डिभिजन ३ः अमेरीका ९४ रनले विजयी
२०१४ डिभिजन ३ः नो रिजल्ट, वर्षाले रद्ध
अर्को खेलमा नेपाल डी एलमा १० रनले विजयीः अमेरिका २२३ मा ९ विकेट, नेपाल ७३ मा एक विकेट, बर्षाले खेल २२ ओभरमा झारिएको थियो ।