काठमाडौंः आइसीसी विश्वकप लिग–२ को एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत अमेरिकासँगको खेलमा पनि नेपाली टीमका स्पिनर सुशन भारीले उत्कृष्ट बलिङ गरेका छन् । उनले ४ ओभर बलिङ गर्दा १८ रन दिएर महत्वपूर्ण २ विकेट लिइसकेका छन् । उनले करीमा गोरे (१०) र अक्षय होमराज (५) को विकेट लिएका हुन् ।
नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले छैटौं विकेटका रुपमा १४.४ ओभरमा करीमा गोरेलाई १० रनमा गुमाउन पुग्यो । यो समाचार तयार पार्दासम्म अमेरिकाले १७ ओभरमा महत्वपूर्ण ६ विकेट गुमाएर ५२ रन बनाएको छ ।
अमेरिकाले चौथो विकेटका रुपमा ३.४ ओभरमा मोनाक पटेललाई व्यक्तिगत ४ रनमा गुमाएकाे थियाे । उनलाई नेपाली टीमका स्पिनर सन्दीप लामिछानेले एल्बीडब्ल्लू आउट गरे । यसअघि सन्दीपले आफ्नो पहिलो ओभरमा आरोन जोन्सलाई पनि ५ रनमा एल्बीडब्लूको सिकार बनाएका थिए ।
एकै ओभरमा करनले लिए २ विकेट
अमेरिकाविरुद्ध पनि नेपाली टीमका फास्ट बलर करन केसीले घातक बलिङ गरेका छन् । उनले एकै ओभरमा महत्वपूर्ण विकेट लिएका छन् । आफ्नो दोस्रो ओभरमा करनले जेभियर मार्शल (२) र स्टेभन टेलर (०) को विकेट लिएका हुन् । करनले पहिलो खेलमा ओमानविरुद्ध ४ विकेट लिएका थिए ।
यसअघि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन बनायो । उसका लागि कुशल मल्ल र विनोद भण्डारीले अर्धशतक बनाए ।
मल्लले ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए । उनको यो डेब्यू म्याच हो । कुशल सर्वाधिक सानो उमेरमा डेब्यू म्याचमै अर्धशतक पूरा गर्ने विश्वकै पहिलो खेलाडीसमेत बनेका छन् । उनले १५ वर्षकै उमेरमा ओडीआई क्रिकेटको डेब्यू म्याचमै अर्धशतक बनाएका हुन् । यस्तै नेपालका लागि आज विनोदले ७९ बलमा एक छक्का र ६ चौका प्रहार गर्दै ५९ रनको योगदान दिए ।
कप्तान ज्ञानेन्द्र मल्ल २१, पारस खड्का १९, करन केसी १२ र सुशन भारी ११ रनमा आउट भए । नेपालका अन्य खेलाडीले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् । बलिङमा अमेरिकन टीमका क्यामरन स्टीभेन्सनले सर्बाधिक ३ विकेट लिए ।