काठमाडौंः आइसीसी विश्वकप लिग–२ को एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत अमेरिकाविरुद्ध नेपाल ३५ रनले विजयी भएकाे छ ।
नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले ४४.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो । उसका लागि इयान हल्यान्डले सर्बाधिक ७५ रन बनाए ।
बलिङमा नेपाली टीमका करन केसीले ४, सुशन भारीले ३, सन्दीप् लामिछानेले २ र कुशल मल्लले १ विकेट लिए ।
यसअघि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन बनायो । उसका लागि कुशल मल्ल र विनोद भण्डारीले अर्धशतक बनाए ।
मल्लले ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए । उनको यो डेब्यू म्याच हो । कुशल सर्वाधिक सानो उमेरमा डेब्यू म्याचमै अर्धशतक पूरा गर्ने विश्वकै पहिलो खेलाडीसमेत बनेका छन् । उनले १५ वर्षकै उमेरमा ओडीआई क्रिकेटको डेब्यू म्याचमै अर्धशतक बनाएका हुन् । यस्तै नेपालका लागि आज विनोदले ७९ बलमा एक छक्का र ६ चौका प्रहार गर्दै ५९ रनको योगदान दिए ।
कप्तान ज्ञानेन्द्र मल्ल २१, पारस खड्का १९, करन केसी १२ र सुशन भारी ११ रनमा आउट भए । नेपालका अन्य खेलाडीले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् । बलिङमा अमेरिकन टीमका क्यामरन स्टीभेन्सनले सर्बाधिक ३ विकेट लिए ।