काठमाडौंः बिग बास लिग (बीबीएल) को नवौं सिजनको उपाधि सिड्नी सिक्सर्सले जितेको छ । आज फाइनलमा मेलबर्न स्टार्सलाई १९ रनले हराउँदै सिड्नीले उपाधि जितेको हो । सिक्सर्सले दोस्रोपटक बीबीएलको उपाधि जित्न सफल भएको हो । मेलबर्नले तेस्रो पटक फाइनलमा पुगेर पनि उपाधि जित्नबाट चुक्यो ।
मेलबर्न गत संस्करणको उपविजेता टीम पनि हो । वर्षाका कारण १२ ओभरमा छोट्याइएको खेलमा सिक्सर्सले दिएको १ सय १७ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको मेलबनले ६ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो ।
यसअघि टस हारेर ब्याटिङको मौका पाएको सिड्नीले १२ ओभरमा झारिएको खेलमा ५ विकेट गुमाएर १ सय १६ रन बनायो । उसका लागि जोश फिलिपले ५२, जोर्डन सिल्कले अविजित २५, स्टिभ स्मिथले २१ रन बनाए । बलिङमा मेलबर्न स्टार्सका एडम जम्पा, कप्तान ग्लेन म्याक्सवेलले २–२ र डानियल वर्रलले एक विकेट लिए ।
स्टार्स नेपाली लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टीम हो। तर उनी लिग चरणको अन्तिम खेल खेलेर आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपालसहित अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखला खेल्न स्वदेश फर्किएका छन्।
उनले माघ २२ गते शृंखलाको उद्घाटन खेलमा ओमानविरुद्ध तथा शनिबार अमेरिकाविरुद्ध खेलिसकेका छन्। पहिलो खेलमा विकेट विहीन भएका उनले विष्फोटक ब्याटिङ गर्दै २७ बलको सामना गर्दै २८ रन जोडेका थिए। त्यस्तै शनिबार अमेरिकाविरुद्ध २ विकेट लिए।