काठमाडौंः आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा ओमान टीमका अकिब इल्यासले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् ।
३७ रन बनाएको अवस्थामा जीवनदान पाएका उनी नेपाली बलरलाई दबाबमा राख्न सफल भएका छन् । अकिब ३७ रन बनाएको अवस्था आरिफ शेखले क्याच छुटाएका थिए ।
यो समाचार तयार पार्दासम्म ओमानले ३५ ओभरमा २ विकेट गुमाएर १ सय ६९ रन बनाइसकेको छ । यो अवस्थामा उसका लागि अकिब इल्यासले ७२ र जीशान मक्सूदले २७ रन बनाएर खेलिरहेका छन् ।
यसअघि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । उनले ७६ बलमा एक छक्का र ६ चौकाको मद्दतमा ५६ रनको योगदान दिए ।
यस्तै पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ शेख, कुशल मल्लले २८–२८, सुवास खकुरेलले २२, करण केसीले १० र सन्दीप लामिछानेले १० र कमलसिंह ऐरीले नटआउट ९ रन बनाए । बलिङमा ओमान टीमका अकिब इलायसले ४ र मोहम्मद नदीमले ३ विकेट लिए ।