काठमाडौंः अष्ट्रेलियामा भारी वर्षा भएको छ । वर्षाका कारण राजधानी सिड्नीसहित अधिकांश क्षेत्र जलमग्न भएका छन् ।
शनिबार रातिको भारी वर्षाका कारण झण्डै पाँच हजार हेक्टर वन क्षेत्र सखाप पारेको ठूलो डढेलो निभेको बताइएको छ ।
वर्षाका कारण सडकहरु जलमग्न भएपछि यातायात सेवा प्रभावित भएको छ भने कतिपय क्षेत्रका बासिन्दा विद्युत सेवाबाट पनि बञ्चित भएका छन् ।
न्यु साउथवेल्स राज्यमा गत बुधबारदेखि नै पानी परिरहेको छ । शनिबार रातिको वर्षा दुई दशकयताकै ठूलो मापन गरिएको अधिकारीहरुले बताएका छन् ।
डुबान क्षेत्रमा एक व्यक्ति पौडिँदै फास्टफुड रेष्टुरेन्टमा पुगेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ ।
उत्तरी सिड्नी र रिचमण्डको होचो भूभागमा बसोबास गरेकाहरुलाई सुरक्षित स्थानमा सारिएको छ । जलसतह बढेर उत्तरी रिचमण्ड पुललाई छोएपछि त्यहााबाट आवतजावत गर्न रोक लगाइएको छ ।
आइतबार दिउँसोबाट सिड्नी, सेन्ट्रल कोस्ट, हन्टर, ब्लु माउन्टेन्स र इलवारा क्षेत्रमा विद्युत सेवा बन्द भएको छ । बिजुली नहुँदा त्यहाँका हजारौं बासिन्दा समस्यामा परेका छन् ।