ललितपुरः ललितपुर–१० कुपण्डोलमा पार्किङमा राखिएको स्कुटीमा आगजनी गरिएको छ । कुपण्डोल स्थित हिमालय होटल नजिकै रहेको साकाओता मार्गमा पार्किङमा राखिएको प्रदेश–३–०२–००८ प २७६४ नम्बरको स्कुटीमा अज्ञात व्यक्तीले आगजनी गरेका हुन् ।
सोमबार दिउँसो करिब ३ बजेको समयमा घरको कम्पाण्डभित्र रोकेर राखिएको स्कुटरमा आगजनी गरिएको हो ।
आगजनी गर्ने व्यक्ति फरार रहेका छन् । उक्त स्कुटर पुरु मगियाको नाममा रहेको जनाइएको छ । स्कुटर धनी आफन्तको घरमा बुबाको वार्षिक पितृ कार्यका लागि कार्ड दिन भनेर आएको १५ मिनेटमै सो घटना घटेको पीडितले जानकारी दिए ।
आगजनी गर्ने व्यक्तिले बोतलमा पेट्रोल ल्याई आगो सल्काएर भागेको प्रत्यक्षदर्शीले बताए । आगजनी गरेर फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।