काठमाडौंः १३ तोला सुनका गहना फिर्ता गर्ने चालकलाई एक यात्रुले सिक्रि उपहार दिएका छन् ।
आज सुन्धरा बस्ने लक्की रिजाल लाजिम्पाटदेखि थापाथलिमा रहेको नर्भिक अस्पतालसम्म कारमा १३ तोला बराबरको सुनको गरगहना, ल्यापटप, महत्वपूर्ण मेडिकलको कागजपत्रहरू र लत्ता कपडासहितको लगेज व्याग छुटेको थियो ।
रिजाललाई भाडामा लिएको कारमा नम्बर पनि थाहा थिएन । तर, उनले महानगरीय ट्राफिक प्रहरी महाशाखामा निवेदन दिएका थिए ।
ट्राफिक प्रहरीले खोजी गर्ने तयारी गरेका बेला बा २ ज ४०७१ नम्बरको कार चालक नविन सिग्देलले ट्राफिक हट लाईन १०३ मा आफैं फोन गरे । सुनका गरगहनालगायत यात्रुले कारमा छोडेर गएको जानकारी ट्राफिकलाई दिए ।
सिग्देल आफैं महाशाखामा आए र कारमा छुटेको १३ तोला बराबरको सुनको गरगहना, ल्यापटप, महत्वपूर्ण मेडिकलको कागजपत्रहरू र लत्ता कपडासहितको लगेज व्याग रिजाललाई फिर्ता गरे ।
र, इमान्दारिताको कदर गर्दै सामान फिर्ता गरेको भन्दै चालक सिग्देललाई यात्रु रिजालले सुनको सिक्रि उपहार दिएका छन् ।