अहिले प्रधानमन्त्री बन्दिन, पछिको कुरा अर्कैः अध्यक्ष प्रचण्ड

नुवाकोटः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्री बन्ने लालसा नराखेको बताएका छन् । उनले अहिले आफूलाई प्रधानमन्त्रीको रेसमा रहेको रुपमा नबुझिदिन पनि आग्रह गरे । भविष्यमा भने प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व लिन सक्ने अध्यक्ष प्रचण्डको संकेत थियो ।

‘म अहिले प्रधानमन्त्री बन्दै छैन’, तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको जन्मथलो नुवाकोटको तुप्चेमा बोगटीको शालीक अनावरण तथा चण्डेश्वरी माविको अभिभावक सामारोहलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले भने, ‘भविष्यको कुरा अर्कै हो ।’

कार्यक्रममा काँग्रेस सांसद बहादुरसिंह लामा तामाङले अब हुँदै गरेका प्रधानमन्त्री भन्दै प्रचण्डको सम्बोधन गरेका थिए । लामाको भनाइको खण्डन गर्दै प्रचण्डले प्रधानमन्त्री बन्ने मनसाय नराखेको प्रष्टीकरण दिए । प्रचण्डले आफ्नो ध्यान सत्तामा नभई मुलुक विकासमा रहेको स्पष्ट गरे ।

याे पनि पढ्नुस  केन्द्रीय समिति बैठकमा देखियो प्रचण्डको कमाण्डिङ

चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतमा एकैसाथ भेटेका बेला आफूले नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको प्रस्ताव राखेको चर्चा गर्दै उनले त्यसमा अहिले आएर तीनै मुलुकका बीचमा करिब सैद्धान्तिक सहमति कायम भएको उल्लेख गरे । ‘उहाँहरुले त्यतिबेला दुई प्लस वान भन्नुभएको थियो, मैले नेपाल सानो छैन । टु प्लस वान होइन, थ्री नै हो भनेको थिएँ’, प्रचण्डले भने, ‘त्यही प्रस्तावअनुसार चीनको ल्हासाबाट नुवाकोट हुँदै ठोरीबाट भारत जोड्ने सडक सञ्जाल निर्माण हुने सम्भावना बढेर गएको छ ।’

याे पनि पढ्नुस  प्रतिक्रियावादी शक्ति इतिहासको चक्कालाई पछाडि धकेल्न खोज्दै छन् : प्रचण्ड

उनले त्रिदेशीय रणनीतिक विकास, कूटनीतिक र कनेक्टिभिटी नै त्रिदेशीय साझेदारी भएको व्याख्या गरे । फरक प्रसंगमा प्रचण्डले पोष्टबहादुर बोगटीले आफूलाई पञ्चायतविरोधी आन्दोलनदेखि जनयुद्ध, शान्ति प्रक्रिया हुँदै राजनीतिक सबै अप्ठ्यारा उतारचढावहरुमा निसर्त साथ दिएको सम्झँदै उहाँको निधनले पार्टी र आफूलाई ठूलो क्षति भएको स्मरण गरे ।

सामान्य गरिब परिवारमा जन्मेको र औपचारिक रुपमा उच्च शिक्षा ग्रमण नगरेका बोगटीमा असाधारण क्षमता र व्यक्तित्व रहेको उनको भनाइ थियो । बोगटीमा रहेको चारित्रिक र नैतिक बलका कारण उहाँले बोलेपछि पार्टीका शीर्ष नेताहरु समेत हच्किने गरेको प्रचण्डको भनाइ थियो ।

आफ्नो दायाँ र बायाँ बाबुराम भट्टराई र मोहन वैद्य रहेको स्मरण गर्दै प्रचण्डले बोगटीका अगाडि दुवै डराउने गरेको सुनाए । ‘मेरो दायाँ र बायाँतिर ठूल्ठूला विद्वान डाक्टर र वैद्य थिए’, उहाँ त धेरै नपढेको मान्छे तर, उहाँ बोलेपछि डाक्टर र वैद्यको पसिना छुट्थ्यो ।’

याे पनि पढ्नुस  नेकपा कार्यदल मस्यौदाः ओलीको अधिकार खुम्च्याइयो, प्रचण्डको बढाइयो

बोगटीको असामयिक निधनमा काँग्रेस, तत्कालीन, एमाले, मधेस केन्द्रित दल तथा स्वदेशी र विदेशी मिडिया सबैतिरबाट दुःख व्यक्त भएको स्मरण पनि प्रचण्डले गरे । उनले पोष्टबहादुर बोगटीजस्तै सरल, असल, सहृदयी र मुलुकलाई नेतृत्व प्रदान गर्न सक्ने असाधारण विद्यार्थी उत्पादन गर्न विद्यालयलाई आग्रह गरे । कार्यक्रममा प्रचण्डले विद्यालय हातामा निर्मित बोगटीको शालीक अनावरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्