स्पेनिस ला लिगाः रोमाञ्‍चक खेलमा बार्सिलोनाको जित

म्याड्रिडः स्पेनिस ला लिगा फुटबलको सोमबार बिहान सम्पन्न खेलमा साबिक विजेता बार्सिलोनाले रियल बेटिसमाथि ३-२ गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको छ। निकै रोमाञ्चक खेलमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै नतिजालाई आफ्नो पक्षमा पारेको हो।

खेल सुरु भएको छैटौं मिनेटमै रियल बेटिसले अग्रता लिएको थियो। बेटिसका लागि सर्जियो कानालेसले पेनाल्टीमार्फत गोल गरेका थिए। त्यसको तीन मिनेटपछि बार्सिलोनाका लागि फ्रान्की डे जोङले जवाफी गोल फर्काए। २६औं मिनेटमा रियल बेटिसले पुनः अग्रता लियो। रियल बेटिसका लागि नाबिल फेकिरले दोस्रो गोल गरेका हुन्।

याे पनि पढ्नुस  ला लिगा अब फेसबुकमा मात्रै हेर्न पाइने !

पहिलो हाफको खेल सकिनुभन्दा ठिक अघि सर्जियो बसक्वेट्सले बार्सिलोनाका लागि जवाफी गोल गरे। खेल प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहँदा ७२औं मिनेटमा डिफेन्डर क्लिमेन्ट लेङ्लेटले बार्सिलोनाका लागि निर्णायक गोल गरेका थिए।

खेलको अन्त्यतिर दुवै टोली १०/१० खेलाडीमा समेटिएका थिए। ७६औं मिनेटमा रियल बेटिसका नाबिल फेकिर दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए। ७९औं मिनेटमा बार्सिलोनाका लेङ्लेट पनि दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए। त्यसअघि पाँचौं मिनेटमै लेङ्लेटले पहिलो कार्ड पाएका थिए।

याे पनि पढ्नुस  स्पेनिस ला लिगाः मेस्सीको निर्णायक गोलसँगै बार्सिलोना शीर्ष स्थानमा

सहभागी सबै टोलीले २३ औं चरणको खेल खेलिसक्दा ५२ अंकसहित रियल म्याड्रिड पहिलो र ४९ अंकसहित बार्सिलोना दोस्रो स्थानमा छन्। रियल म्याड्रिडले भने आफ्नो पछिल्लो खेलमा ओसासुनालाई ४-१ गोलको फराकिलो अन्तरले हरायो। रियल म्याड्रिडका लागि इस्को, सर्जियो रामोस, लुकास भासक्वेज र लुका जोभिचले गोल गरे।

याे पनि पढ्नुस  स्पेनिस ला लिगाः मेस्सी चम्किँदा बार्सिलोनाद्धारा रियालमाथि गोलको बर्षा

सेभिल भने आफ्नो पछिल्लो खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी सेल्टा भिगोसँग २-१ गोलले पराजित भयो। सेभिल ३९ अंकसहित तालिकाको पाँचौं स्थानमा छ। ४२ अंकसहित गेटाफे तेस्रो र ३९ अंकसहित एट्लेटिको म्याड्रिड चौथो स्थानमा आसीन छन्।

कमेन्ट गर्नुहोस्