कञ्चनपुरः जिल्ला प्रशासन कार्यालयमा धर्नाबाट गिरफ्तार गरिएका दुई महिलालाई छाडिएको छ । उनीहरु बिहान जिल्ला प्रशासन कार्यालयको धर्नाबाट अधिकारकर्मी शारदा चन्द सहित पक्राउ गरिएका थिए ।
प्रहरीले छाडेका दुबै जना अधिकारकर्मी शारदा चन्दले वनखेतमा सञ्चालन गर्दै आएको महिला तथा वृद्ध सेवा केन्द्रमा बस्दै आएका छन् । उनीहरुमा जयन्ती विष्ट र नन्दा सेटी छन् । उनीहरु दुबै ६० वर्षका छन् ।
केन्द्रका कर्मचारी हिरादेबी भट्ट सहित शारदा चन्द, सुरेन्द्र देउवा, खडक विष्ट, यशोदादेबी बोहरा लगायतका अन्य प्रहरी नियन्त्रणमा छन् । अधिकारकर्मी चन्द महिला तथा वृद्ध सेवा केन्द्रमा अध्यक्ष छिन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र पौडेलले वृद्धाश्रमका दुई वृद्धा महिलालाई छाडिएको बताए । ‘वृद्धाश्रमका दुई महिलालाई छाडिएको छ, अन्य हिरासतमा छन्’ उनले भने ।
प्रहरी प्रवक्ता पौडेलले प्रशासनमा धर्ना बसेर सवारी र आवागमन अवरोध गरेपछि पक्राउ गरिएको बताए ।
निर्मला पन्तको न्यायका लागि भएको आन्दोलनमा घाइते भएका देउवा सहितले उपचार खर्च माग गर्दै डेढ महिनादेखि प्रशासनमा धर्ना बस्दै आएका थिए ।