नेप्से सूचक घट्दा एक अर्ब ७७ करोड रुपैयाँको कारोवार

काठमाडौं:  साताको अन्तिम दिन नेप्से सूचक १.३९ अंकले घटेर १३४४.५९ अंकमा झरेको छ। सूचक तल झरेपनि कारोबार रकम भने एक अर्ब ७७ करोड रुपैयाँ नाघेको छ।

गएका दिनमा शेयर खरिद गरेर सेटल गर्न नभ्याएका लगानीकर्ताको हातमा पैसा आउन थालेसँगै दोस्रो बजारमा पुनः कारोबार रकम बढ्न थालेको हो।

एकैदिन शेयर खरिद गर्ने र बिक्री गर्दा केही समय लगानीकर्ताहरुले पैसाको व्यवस्थापन गर्न सकेका थिएनन्। पैसाको व्यवस्थापन गर्न नसक्दा सूचक र कारोबार रकम घट्न थालेको थियो।

केही दिनको करेक्सनसँगै बजार सुधार हुने संकेत देखिएको छ। केही दिनअगाडि एक अर्ब रुपैयाँभन्दा तल कारोबार भएको थियो। मंगलबार १७ अंकले शेयर बजार सुधार भएपछि लगानीकर्ताहरुले शेयर खरिद गरिरहेका छन्।

बिहीबार सबैभन्दा धेरै हिमालयन डिष्ट्रिलरीको १२ करोड रुपैयाँको कारोबार भएको छ। त्यस्तै शिवम् सिमेन्टको शेयर पनि ९ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ।

लगानीकर्ताहरुले केही कम्पनीहरुको शेयर मूल्यमै खुलेर चलखेल गर्न थालेका छन्। शिवम् सिमेन्टको नाफा घटेपनि कम्पनीको शेयर मूल्य भने बढिरहेको छ। त्यस्तै थोरै शेयर मूल्य भएका तथा बलिया संस्थापक रहेका कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित देखिन्छन्।

बिहीबार बैंकिङको सूचक, होटल, विकास बैंक, हाइड्रोपावर र म्युचुअल फण्डको सूचक घटेको छ। गणपती माइक्रोफाइनान्स र हिमालयन डिष्ट्रिलरीको शेयर अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ।

कमेन्ट गर्नुहोस्