एक महिनापछि ऋषभ पन्तले पाए मौका, तर फेरि सस्तैमा आउट!

काठमाडौंः टेष्ट सिरिज अघि न्यूजिल्याण्ड–११ सँग खेलेको अभ्यास म्याचमा भारत २ सय ६३ रनमै समेटिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ७८.५ ओभरमा सबै विकेट गुमाएर २ सय ६३ रन मात्र बनाउन सक्यो । उसका लागि हनुमा बिहारीले शतक बनाए । उनले ३ छक्का र १० चौकासहित १८२ बलमा १०१ रन बनाए ।

यस्तै चेतेश्वर पुजाराले ९२, आजिंक्य रहाणेले १८ रनको योगदान दिए । भारतका अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा न्यूजिल्याण्ड–११ टीमका स्कट कुग्लाइन, इस सोधीले सर्बाधिक ३–३ विकेट लिए ।

ऋषभ फेरि सस्तैमा आउट!

भारतीय क्रिकेट टीमका विकेटकीपर–ब्याट्सम्यान ऋषभ पन्त न्यूजिल्याण्ड–११ सँगको तीन दिवसीय म्याचको पहिलो दिन सस्तैमा आउट भएका छन् । उनी आज १० बलमा एक चौकासहित ७ रन बनाएर आउट भए । उनलाई इस सोधीले क्याच आउटको सिकार गरे ।

एक महिनापछि टीममा मौका पाएका ऋषभ फेरि सस्तैमा आउट हुँदा टेष्ट सिरिजमा पनि अवसर पाउने सम्भावना कमजोर बनेको छ । उनको स्थानमा न्यूजिल्याण्डसँगको टी–२० र एकविदसीय सिरिजमा केएल राहुलले विकेटकीपिङ गरेका थिए । भारतले पाँच म्याचको टी–२० र तीन खेलको वानडे सिरिज खेल्दा पन्तलाई बेन्चमै राखेको थियो ।

टी–२० सिरिज भारतले ५–० ले जितेको थियो । तर, न्यूजिल्याण्डसँगको वानडे सिरिजमा भने भारत ३–० ले ‘क्लिन स्विप’ हुन पुग्यो । टी–२० र वानडेपछि भारतले २१ फेब्रुअरीदेखि न्यूजिल्याण्डसँग २ म्याचको टेष्ट सिरिज पनि खेल्न लागेको हो ।

कमेन्ट गर्नुहोस्