टी–२० सिरिजः दक्षिण अफ्रिकाद्वारा इंग्ल्याण्डलाई २२३ रनको लक्ष्य

काठमाडौंः टी–२० क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई २ सय २३ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २२ रन बनायो ।

उसका लागि हेनरिक क्लासेनले शानदार ब्याटिङ गरे । सिरिजको पहिलो र दोस्रो खेलको विश्रामपछि प्लेइङ ११ मा फर्किएका उनले ‘निर्णायक’ म्याचमा ३३ बलमा ४ छक्का र ४ चौकासहित ६६ रनको योगदान दिए ।

यस्तै टेम्बा बवुमाले ४९, कप्तान क्विन्टन डीककले ३५, रस्सी भ्यान डर दुसेन, ड्वाइन प्रेटोरियसले ११–११, डेविड मिलरले अविजित ३५ रन बनाए । पहिलो इनिङ्समा दक्षिण अफ्रिकाका ब्याट्सम्यानले १३ छक्का र १५ चौका प्रहार गर्दै रन बनाएका हुन् ।

बलिङमा इंग्ल्याण्ड टीमका बेन स्टोक्स, टम करनले २–२, आदिल रशिद र मार्क उडले एक–एक विकेट लिए । सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिका १ रनले विजयी हुँदा दोस्रो म्याचमा २ रनले पराजित भएको थियो । दक्षिण अफ्रिकाले अन्तिम खेलमा २ र इंग्ल्याण्डले एक खेलाडी परिवर्तन गरेको छ ।

दक्षिण अफ्रिकाले जोन–जोन स्मुट्स र ब्यूरन हेन्ड्रिक्सलाई विश्राम दिँदै हेनरिक क्लासेन र डेल स्टेनलाई प्लेइङ ११ मा समावेश गरेको छ । इंग्ल्याण्डले जो डेन्लीलाई आराम दिँदै डेविड मलानलाई प्लेइङ ११ मा समावेश गरेको छ ।

दक्षिण अफ्रिकाको प्लेइङ ११ः टेम्बा बावुमा, क्विन्टन डि कक( कप्तान), डेविड मिलर, रस्सी भ्यान डर दुसेन, हेनरिक क्लासेन, एन्डिले फेल्लुक्वायो, ड्वाइन प्रेटोरियस, डेल स्टेन, बजोर्न फोर्टुइन, तबराइज शम्सी र लुंगी एनगिडी ।

इग्ल्याण्डको प्लेइङ ११ः जेसन रोय, जोस बटलर, जोनी बेयरस्टो, डेविड मालन, इयोन मोर्गन (कप्तान), बेन स्टोक्स, मोइन अलि, क्रिस जोर्डन, टम कुरान, आदिल रशिद र मार्क वुड ।

कमेन्ट गर्नुहोस्