२२३ रनको लक्ष्य पाउँदा पनि इंग्ल्याण्ड विजयी, पूरा भएन दक्षिण अफ्रिकाको सपना

काठमाडौंः दक्षिण अफ्रिकासँगको टी–२० क्रिकेट सिरिज पाहुना टोली इंग्ल्याण्डले २–१ ले जितेको छ । अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले हराउँदै इंग्ल्याण्डले सिरिज जितेको हो । ‘निर्णायक म्याच’मा दक्षिण अफ्रिकाले दिएको २ सय २३ रनको विशाल लक्ष्य इंग्ल्याण्डले १९.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका लागि कप्तान इओन मोर्गनले विस्फोटक ब्याटिङ गरे । उनले २२ बलमा ७ छक्का प्रहार गर्दै अविजित ५७ रनको योगदान दिए । यस्तै जोनि बेरिस्टोले ६४, जस बटलरले ५७ र बेन स्टोक्सले २२ रन बनाए । बलिङमा दक्षिण अफ्रिका टीमका लुंगि एन्गीडिले सर्बाधिक २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २२ रन बनायो । उसका लागि हेनरिक क्लासेनले शानदार ब्याटिङ गरे । सिरिजको पहिलो र दोस्रो खेलको विश्रामपछि प्लेइङ ११ मा फर्किएका उनले ‘निर्णायक’ म्याचमा ३३ बलमा ४ छक्का र ४ चौकासहित ६६ रनको योगदान दिए ।

यस्तै टेम्बा बवुमाले ४९, कप्तान क्विन्टन डीककले ३५, रस्सी भ्यान डर दुसेन, ड्वाइन प्रेटोरियसले ११–११, डेविड मिलरले अविजित ३५ रन बनाए । पहिलो इनिङ्समा दक्षिण अफ्रिकाका ब्याट्सम्यानले १३ छक्का र १५ चौका प्रहार गर्दै रन बनाएका हुन् ।

बलिङमा इंग्ल्याण्ड टीमका बेन स्टोक्स, टम करनले २–२, आदिल रशिद र मार्क उडले एक–एक विकेट लिए । सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिका १ रनले विजयी हुँदा दोस्रो म्याचमा २ रनले पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्