बलात्कार प्रयास मुद्दामा महरालाई सफाइ

काठमाडौं: काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

न्यायाधीश पौडेलको इजलासले निर्दोष ठहर गरेसँगै महरा जेलमुक्त हुने भएका छन् । गत कात्तिकदेखि महरा डिल्लिबजार कारागारमा थुनामा थिए ।

काठमाडौं जिल्ला अदालतले सोमबार फैसला गर्दै महरालाई सफाइ दिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । ‘उहाँ (महरा) ले सफाइ पाउनुभयो,’ श्रेस्तेदार श्रेष्ठले भने ।

आइतबार महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए। सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलले जवाफ दिएका थिए ।

सं‌सद सचिवालयकी कर्मचारीलाई बलात्‍कार प्रयास गरेको आरोप महरामाथि मुद्दा लागेको थियो । यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

आफूमाथि अभियोग लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । महराले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए ।

संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका महरा असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्