रोशनीको ताजा बयानः अन्ततः जालझेल र षडयन्त्रको पर्दाफास भयो

काठमाडौंः पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि बलात्कार प्रयासको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले त्यसको स्वागत गरेकी छन् ।

एभरेष्ट दैनिकसँग कुरा गर्दै उनले भनिन्, ‘सम्मानित अदालतलाई धन्यवाद दिन चाहन्छु । पूर्वसभामुखलाई सफाइ दिने निर्णय न्यायोचित र स्वागतयोग्य छ ।’

महराले न्याय पाउन केही ढिलो भएको उनको प्रतिक्रिया थियो । ‘पहिले नै यो आदेश हुनुपथ्र्यो । जेहोस्, ढिलै पनि उहाँ (महरा)ले न्याय पाउनुभएको छ । सत्यको जित भएको छ’ उनले भनिन् ।

उनले जालझेल र षडयन्त्र गर्नेले धेरै मौका पाएको भन्दै भनिन्, ‘जालझेल र षडयन्त्र धैरै दिन टिकेन । आखिर अन्तिममा आएर त सबै कुरा पर्दाफास भयो ।’

यसअघि पनि रोशनीले उक्त आरोप झुटो भएको बताउँदै आएकी थिइन् । शाहीले महरा आफ्नो कोठामा नआएको भने र अदालतमा समेत बयान दिएकी थिइन् ।

अदालतले मुख्य आधार यसैलाई बनाएर महरालाई सफाइ दिएको हो र महरा कारागारबाट रिहा भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्