रिहापछि महराले भने– जेलमा रहेका निर्दोष कैदी छुटाउन पहल गर्छु

काठमाडौंः पूर्वसभामुख कृष्णबहादुर महराले डिल्ली बजार कारागारमा थुनिएका ५० प्रतिशत कैदी निर्दोष रहेको दाबी गरेका छन् । जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका महराले कैदीहरूसँग बिदाइ भेट गर्दै निर्दोष कैदीलाई छुटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘मैले यहाँ (डिल्लीबजार कारागार) बसुन्जेल थाहा पाएँ, ५० प्रतिशतभन्दा बढी कैदी निर्दोष छन् । म बाहिर गएर तपाईंहरूको रिहाइका लागि पहल गर्नेछु,’ महराले भने ।

साथै उनले आफू निर्दोष भएको र अरू विषयमा पछि बोल्ने बताए । महराले थुनामा रहँदा सबैले राम्रो व्यवहार गरेको भन्दै आभार व्यक्त गरे ।

डिल्लीबजार कारागारबाट महरालाई पूर्वआईजीपी रमेशचन्द ठकुरी र सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालालगायतले खादा लगाएर बिदाइ गरेका छन् ।

रिहा हुँदा उनलाई स्वागत गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ता पुगेका थिए ।

महराको स्वागतमा उपस्थित भएकाहरूले राष्ट्रिय झण्डा समेत बोकेका थिए । त्यसक्रममा समर्थकहरूले ‘एमसीसी मुर्दावाद !’ भन्दै नाराबाजी समेत गरे ।

कमेन्ट गर्नुहोस्