महायज्ञमा गएको मौका छोपेर बालिकामाथि सामूहिक बलात्कार

भैरहवाः रुपन्देहीको मर्चवार क्षेत्रमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ ।

मर्चवरको सम्मरीमाई गाउँपालिका–३ बाबुथुमुवाका तीन युवाले सोही स्थानकी १६ वर्षीया पुष्पाको (परिवर्तित नाम) सामूहिक बलात्कार गरेका हुन् ।

इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक चित्र बहादुर घलेका अनुसार आरोपित तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ‘तीन जना युवाहरुले सामुहिक बलात्कार गरेको जबरजस्ती करण मुद्दामा जाहेरी आएको छ’ घलेले भने, ‘तीनै जनालाई पक्राउ पनि गरिसकेका छौँ।’

बलात्कारको आरोपित सोही स्थानका तीनै जना २२ वर्षीय पंकज तिवारी, २३ वर्षीय वृजेश त्रिपाठी र १८ वर्षीय जयन्त कहारलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बतायो ।

पीडितको बुवा विरामी भएर आमाले उपचारका लागि उनलाई लिएर भारत गएकी थिइन्। गाउँमा महायज्ञ चल्दैछ। त्यही मौका छोपेर युवाहरुले सामूहिक बलात्कार गरेको बताइएको छ।

घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्