खरिपाटी क्वारेन्टाइन भित्रको दैनिकीः छतमाथि क्यारमबोर्ड, व्याडमिन्टन र लुँडो!

भक्तपुरः सोमबार भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुग्दा रमाइलो दृष्य देखिन्थ्यो । क्वारेनटाइनमा बसेकाहरुको तीन टोली छत माथि बसेर क्यारमबोर्ड खेलिरहेका देखिन्थे । केही लुँडो, केही ब्याडमिन्टन समेत खेलरहेका थिए ।

कोभिड–१९ (कोरोना भाइरस) को प्रकोप फैलिएको चीनको बुहानबाट उद्दार गरी ल्याइएका नेपालीको दैनिकी खेलकूदमा बितिरहेको छ । उनीहरुको दैनिकी सहज होस भन्ने उद्देस्यले सरकारले इन्टरनेट, टेलिभिजन, विभिन्न खेलकुदका सामग्रीहरुको व्यवस्था समेत गरिदिएको छ ।

क्वारेनटाइनमा बस्ने नेपालीहरुले आफूले सोचेभन्दा पनि धेरै राम्रो व्यवस्थापन गरेकोमा सरकारको प्रशंसा गरीरहेका छन् । सरकारले विभिन्न क्षेत्रका मानिसलाई क्वारेनटाइन व्यवस्थापनमा खटाएको छ ।

स्वास्थ्य क्षेत्रमा नेपाली सेनाका चिकित्सक डा‍ नविन फुँयालको नेवृत्वमा टोली खटाइरहेको छ । डा‍. फुँयालले कुरा गर्दै भने, ‘स्वास्थ्य क्षेत्रबाट गर्नुपर्ने सम्पूर्ण व्यवस्थापन गरिएको छ ।’ उनले क्वारेनटाइनमा बस्ने १७५ जना स्वस्थ रहेको जानकारी दिँदै सुरक्षाको दृष्टिकोणबाट मात्र राखिएको बताए ।

डा‍ फुँयालले खाना, बस्न, खेलकूद, मनोरञ्जन, इन्टरनेटको समेत व्यवस्था गरिएको बताए । उनीहरुलाई कुनै किसिमको कमी भएको महशुस हुन नदिएका छैनौ‌ डा. फुयालले भने ।

डा. फुँयालले त्यहाँ रहेका सम्पूर्ण नेपाली स्वस्थ रहेको बताए । अहिले खकारको परीक्षणको लागि टेकु पठाइएको भन्दै उहाँले बुधबार उक्त रिपोर्ट आइसक्ने जानकारी दिए । अहिलेसम्म कुनै पनि नेपालीलाई रुघाखोकी, ज्वरोजस्ता कुनै पनि समस्या नदेखिएकोले आइसोलेसनमा समेत जानु नपरेको बताए ।

सोमबार दिउँसो नै भक्तपुर जिल्ला प्रशासन कार्यालयकी प्रमुख जिल्ला अधिकारी होमकला भण्डारी, नेपाल प्रहरीका भक्तपुर प्रमुख (एसपी) सविन प्रधान, सशस्त्र प्रहरीका प्रमुख एसपी विश्वकुमार भटराई र नेपाली सेनाका प्रमुख सेनानी तथा भक्तपुर जिल्लाका इञ्चार्ज शिव पौडेल क्वारेनटाइन स्थल खरिपाटी पुगेर त्यहाँ राखिएका नेपालीबारे जानकारी लिएका थिए ।

प्रमुख जिल्ला अधिकारी होमकला भण्डारीले सरकारले सम्पूर्ण व्यवस्थापन राम्रोसंँग गरेको बताए । उनले स्थानीयसँग छलफल गरेर नै क्वारेनटाइनको व्यवस्था गरेको उल्लेख गर्दै सुरु सुरुमा भने नबुझेको कारण विरोध गरेको जानकारी दिए ।

सर्वपक्षीय बैठक बसेर नै क्वारेनटाइनको निक्यौल गरेको उल्लेख गर्दै भण्डारीले चीनबाट आएका नेपालीको बसोबासमा कुनै पनि समस्या नरहेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी भण्डारीले नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले सुरक्षा दिइरहेको बताए । क्वारेनटाइनस्थल पुगेका अविभावक दिनेश श्रेष्ठले आफ्नो छोराछोरीका लागि सरकारले चीनबाट उद्दार गरेर ठूलो सहयोग गरेको भन्दै सरकारको प्रशंसा गरे । उनले छोरी डा. श्रद्धा श्रेष्ठले चीनमा हुँदा मरिन्छ कि भन्ने लागेको बताउँदै कतिखेर नेपाल जाउँजस्तो भएको बताए ।

उनले छोरीलाई चीनमा रहदा खान बस्न देखि अन्य विविधकारणले समस्या भएको भन्दै नेपाल आएपछि छोरी लगायत अन्य १७५ जनाले नयाँ जीवन पाएको अनुभूति भएको बताए । चीनमा रहुँदा पानी खान नपाइने, खानाको सर्टेज भएको, मास्क लगायतका सामान नभएको, कति दिन भोकै बस्नुपरेको सुनाउँदै अहिले सरकारले व्यवस्था गरेको क्वारेनटाइनमा बस्दा पाँचतारे होटलमा बसेको जस्तो अनुभब गरेको बताए ।

चीनमा स्यानेटरीको सामाग्रीदेखि खानेपानी, खानेकुराको समेत राम्रो व्यवस्था नहुँदा नेपाली डिप्रेशनमा जान लागेका थिए । डा. फुयालले आफन्तलाई भेट नदिएको अविभावकले ल्याएको खानेकुरा समेत नलिएको बताए । –गाेरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्