रोल्पाको थबाङमा जनयुद्धको झल्कोः फहराइए हसिया–हथौडा अंकित झण्डा, खेलियो परेड!

काठमाडौंः रोल्पाको थबाङमा जनयुद्ध झल्को दिने गरी जनयुद्ध दिवस मनाईदै छ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भव्य रुपमा दिवस मनाईरहेको हो ।

थबाङलाई ‘विप्लव’ नेतृत्वको नेकपाले आधारभूमि समेत दाबी गर्दै आएको छ । थबाङमा फागुन १ गते भव्य समारोहबीच जनयुद्ध दिवस उद्घाटन गरियो । थबाङको ठूलो गाउँको छेउँमा रहेको खुलामञ्चमा हसिया-हथौडा अंकित रातो झण्डा लस्करै फहराइए भने परेड खेलियो १ लाग्थ्यो जनयुद्धताका तत्कालिन माओवादीले गरिरहेको कार्यक्रम हो ।

छेउको भित्ताभरी हसिया-हथौडासहितका पोस्टर टाँसिएका छन् भने खुलामञ्चमा हसिया-हथौडा अंकित रातो झण्डा लस्करै फहराइएका छन् । उक्त कार्यक्रम हेर्दा जनयुद्धताका मनाइने दिवस कै झझल्को दिइएको थियो । करिब ४ सय घरको एउटै बस्ती रहेको थबाङ ठूलो गाउँका अधिकांश घरका छानामाथि झण्डा फहराइएको छ । सत्ताधारी नेकपाले भने थबाङमा दिवस मनाएन ।

विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि जनयुद्ध दिवस मनाउने क्रम घट्दै गए पनि विगतदेखि नै थबाङमा दिवस भव्य रुपममै मनाइने गरिएको छ । प्रतिबन्धित नेकपाका स्थानीय नेताले जानकारी दिएको जानकारी अनुसार जनयुद्ध दिवसको सन्दर्भ पारेर साताव्यापी खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ । ‘जनयुद्धमा थबाङीले ठूलो योगदान दिए । थुप्रैको बलिदानी दिए । त्यही इतिहासको सम्मान स्वरूप दिवस मनाइँदै छ’ उनले भने ।

थबाङमा ‘विप्लव’ नेतृत्वको नेकपाको स्थानीय कमिटीले खेलकुद र साँस्कृतिक प्रतियोगिता आयोजना गरेको हो । राता ब्यानर र झण्डाले सजिएको खुला चौरमा पुरुष र महिला भलिबल प्रतियोगिता चलिरहेको छ । जनयुद्धको उद्गम स्थल भनेर चिनिने थबाङमा प्रत्येक वर्ष जनयुद्ध दिवसका अवसरमा साताव्यापी विविध कार्यक्रम गर्ने गरिएको छ । थबाङमा यो दिवसलाई विशेष महत्वका साथ लिने गरिएको छ ।

यस वर्ष पनि कार्यक्रमस्थल खुलामञ्च टुँडिखेल ठूलाठूला झन्डाले राताम्य पारिएको छ । जनयुद्ध दिवसको दिन उद्घाटन कार्यक्रममा पुरुष फुटबल, महिला फुटबल, कबड्डी, ब्याडमिन्टन, घैँटा फोरलगायत विभिन्न खेलकुदलगायत कार्यक्रम ५ दिनसम्म रहने बताइएको छ ।

पञ्चायतदेखि चर्चामा आईरहने थबाङ युद्धकालभरी माओवादी गढको रूपमा चित्रित भइरह्यो । शान्तिकालको चुनावमा कहिले सतप्रतिशत मतदान गरेर त कहिले शून्य मतदान गरेर अलग्गै पहिचान बनाएको थबाङ अहिले पनि चर्चामै छ ।

कमेन्ट गर्नुहोस्