महायज्ञ उद्घाटन गर्न राष्ट्रपति भण्डारी मधेशमा

रौतहटः राष्ट्रपति विद्यादेवी भण्डारी एक धार्मिक कार्यक्रममा सहभागी हुन आज रौतहट आएकी छन् । उनले मौलापुरस्थित पतौरा महादेव मन्दिरमा पूजा–अर्चना गर्नुका साथै यहाँ आयोजित मधानी महायज्ञ उद्घाटन गरेकी छन् । त्यस अवसरमा राष्ट्रपति भण्डारीले ऐतिहासिक मौलिक परम्परालाई महायज्ञले थप उजागर गर्ने धारणा राखिन् ।

उनले प्राचीन शिव मन्दिरलाई व्यवस्थित बनाएर धार्मिक पर्यटन प्रवद्र्धनलाई बढावा दिनुपर्नेमा जोड दिइन् । ताल तलैयाको संरक्षण नहुनु, बढ्दो वन विनाश र प्राकृतिक दोहन लगायतका कारण बर्षेनी धनजनको क्षति हुने गरेको प्रति दुख व्यक्त गर्दै उनले चुरे संरक्षण र तटबन्ध निर्माणमा सरकारले जोड दिएको पनि बताइन् ।

प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमको सह्राहना गर्दै राष्ट्रपति भण्डारीले यस्ता अभियानबाट कुनै पनि छोरीहरु निरक्षर नहुने र आत्मसम्मानका साथ आफ्नै खुट्टामा उभिन सक्ने क्षमतावान बन्ने बताइन् ।

तराई मधेशको मेरुदण्ड मानिएको हुलाकी सडक परियोजनालाई प्रदेश २ को सरकारले महत्व दिएर अघि बढाएकोमा राष्ट्रपति भण्डारीले प्रशंसा गरिन् ।

कमेन्ट गर्नुहोस्