१४ दिन जहाजमै क्वारेन्टाइन !

टोकियोः कोभिड–१९ (कोरोना भाइरस) यति घातक छ कि, एक जनालाई लाग्यो भने तत्काल सयौंमा फैलिइदिन्छ। उक्त भाइरस संक्रमित एक व्यक्ति पानीजहाजमा यात्रा गर्दा यस्तै भएको छ। झन्डै ५ हजार जनाले १४ दिन जहाजमै ‘क्वारेन्टाइन’ बस्नुपरेको छ। त्यसबीच झन्डै ६ सयलाई संक्रमण भएको छ।

चीनबाट डायमन्ड प्रिन्सेज पानीजहाजमा जापानतर्फ गइरहेका यात्रुले बुधबार दुई साताको ‘जहाजबास’ पूरा गर्दै छन्। उनीहरूले यात्रा सुरु गर्दा ज्यानमारा उक्त भाइरसबारे केही थाहा थिएन। उनीहरू हाँसीखुसी जहाजमा चढेका थिए। बिस्तारै उक्त भाइरसका बिरामी आफूहरूसँगै जहाजमा रहेको खबर फैलन थाल्यो।

जापानी सञ्चारमाध्यम एनएचकेले उक्त खबर प्रसारण गरेपछि जहाजभित्रै हल्लीखल्ली भयो। फेब्रुअरी ५ मा उनीहरू योकोहामा बन्दरगाह पुगेपछि भनियो– त्यही जहाजमा यात्रा गरेर मलेसियामा उत्रिएका एक व्यक्ति कोरोनाबाट संक्रमित भएको पुष्टि भयो।

ती व्यक्तिबाट अरूमा पनि संक्रमण भएको शंकामा कसैलाई उत्रिन दिइएन। परीक्षण गर्दा हरेक दिन संक्रमित बढ्दै गए। मंगलबारसम्म ५ सय ४२ जना संक्रमित भइसकेका छन्। संक्रमणको अधिकतम समय १४ दिन ठानिएकाले सम्भवतः बाँकीले बुधबार त्यहाँबाट मुक्ति पाउनेछन्।

उक्त जहाजमा ३ हजार ७ सय ११ यात्रु र हजारभन्दा बढी चालक दलरकर्मचारी छन्। पानीजहाजमा विभिन्न देशका नागरिक अलपत्र छन्। तीमध्ये अमेरिकाले आफ्ना करिब ४ सय नागरिकलाई सोमबार विशेष जहाज ल्याएर उद्धार गरेको छ। एजेन्सी 

कमेन्ट गर्नुहोस्