आइतवारदेखि बी डिभिजन लिग, उद्घाटन खेलमा ब्वाइज यूनियन र श्रीकुमारी भिड्ने

काठमाडौंः सहिद स्मारक बी डिभिजन लिग फागुन ११ गते आइतबारबाट शुरू हुने भएको छ । बी डिभिजनको उद्घाटन खेलमा ब्वाइज यूनियनले श्रीकुमारी क्लबको सामना गर्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज पत्रकार सम्मेलनको आयोजना गरी डिभिजनको खेल तालिका सार्वजनिक गरेको हो । डिभिजनमा कुल १२ टोली सहभागी हुनेछन् । फागुन ११ गते सुरु भई प्रतियोगिता चैत २३ गतेसम्म चल्नेछन् ।

चैत २३ गते हुने खेलमा झम्सिखेल युथ क्लबले मध्यपुर युथ एशोसिएशनको सामना गर्नेछ । उक्त दिन नै हुने दोस्रो खेलमा आर सी टीले सातदोबाटो युथ क्लबको सामना गर्नेछ । करिब डेढ महिनासम्म चल्ने प्रतियोगिता अवधिभरि ६६ खेल खेलाइनेछन् ।

प्रतियोगिताको सहभागी टोलीहरुमा ब्वाइज यूनियन क्लब, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयाँबस्ती युवा क्लब, झम्सिखेल युथ क्लब, आर सी टी, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एशोसिएशन, पुल्चौक स्पोर्टस् क्लब, बाँसबारी क्लब र श्रीकुमारी क्लब रहेका छन् ।

बी डिभिजनका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै हुने छन् ।

कमेन्ट गर्नुहोस्