सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पदमुक्त गर्न माग

काठमाडौंः सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले घुस मागेको भनिएको अडियोसहितका विवरण विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उनलाई पदमुक्त गरी अनुसन्धान गर्न माग गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारी भइरहँदा मन्त्रीले कमिसन मागेको अडियो सार्वजनिक भएको भन्दै नेपाली कांग्रेसले प्रेस विज्ञप्तिमार्फत् निष्पक्ष अनुसन्धान गर्न समेत माग गरेको छ ।

कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘७० करोड कमिसन सञ्चारमन्त्रीले मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस प्रधानमन्त्रीलाई सार्वजनिक रूपले आग्रह गर्दछ ।’

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत् सञ्चारमन्त्रीलाई पदबाट हटाई आवश्यक छानबिन गर्न माग गरेका छन् ।

स्विस कम्पनीका नेपालस्थित प्रतिनिधि विजयप्रकाश मिश्रसँग भएको भनिएको संवादमा बाँस्कोटाले प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा घुस मागेको झन्डै साढे दुई मिनट लामो श्रव्य सामग्री बुधवार अपराह्णसार्वजनिक भएको थियो ।

स्विस कम्पनीका प्रतिनिधि भनिएका मिश्रले ‘मन्त्री बाँस्कोटासँगको उक्त कुराकानी डेढ वर्षअघि नै भएको’ बताएका छन् । मिश्रले भने, ‘तपाईँहरूले अडियोमा जे सुन्नुभयो साँचो कुरा त्यही हो । डेढ वर्षअघि त्यो कुरा हुँदा हामीले उहाँलाई प्रस्ताव गरेका होइनौं, उहाँले नै हो ।’

सेक्युरिटी प्रिन्टिङ प्रेस बनेपछि राष्ट्रिय परिचयपत्र, पासपोर्ट, स्मार्ट लाइसेन्स, जग्गाधनी प्रमाणपूर्जा, अन्तःशुल्क स्टिकर, सिमकार्ड, रिचार्ज कार्ड, बैंकका एटीएमदेखि मौद्रिक नोटसम्मको छपाइ नेपालमै हुनसक्ने बताइएको छ ।

बिहीवार संसद्को सार्वजनिक लेखा समितिमा पनि प्रिन्टिङ प्रेस खरिदको विषयमा छलफल हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्