सञ्चारमन्त्रीमाथि राजीनामा दिन चर्काे दबाब, आज ३ बजे पत्रकार सम्मेलन

काठमाडौंः खरिद प्रक्रियासँग जोडिएको विषयमा कमिशनको विषयलाई लिएर अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा दिन दबाब परेको छ । पार्टीका समर्थकदेखि नेताहरुले उनलाई राजिनामा दिन दबाब दिएका हुन ।

सञ्चारमन्त्रीले अडियोबारे प्रारम्भिक प्रतिक्रिया दिँदै आफुलाई त्यसरी कमिशन दिने कुरा धेरैले गरेपनि कुनैपनि विषयमा घुस नखाएको बताएका छन् । उनले गलत प्रमाणित भए सजाय भोग्न तयार रहेको समेत बताएका छन् । यद्यपि उनले अडियो आफ्नो नभएको या तोडमरोड गरिएको भन्ने कुरा भने गरेका छैनन् ।

‘यहाँ ७० करोडको कुरा छ होइन ? जतिसुकै करोडको कुरा होस् । मलाई के थाहा छ भने मैले आन्दोलनलाई धोका दिनुहुन्न । दललाई धोका दिनुहुन्न र म भोली कमरेडहरुसँगै बाच्नुपर्छ’, मन्त्री बाँस्कोटाले भनेका छन् ।

उनले आरोपहरुको पुष्टि हुन नसक्ने दावी समेत गरेका छन् । ‘यसको पुष्टि हुनुपर्यो, प्रमाण हुनुपर्यो । आरोपहरु अनेक लाग्न सक्छन् । उहाँले ७० करोड भन्नुभयो, उहाँले ३० करोड भन्नुभयो, ३० दिने की ७० दिने त ? १२ अर्वबाट घटेर करोडमा आएपछि किन चिन्ता गर्ने ? तर म माथि कुनै आरोप लाग्यो भने, मैले पुष्टि गर्नसक्नुपर्छ’, आफुमाथि लागेको आरोपबारे उनले भने ।

अडियो तोडमोड गरिएको या नगरिएको अवस्था जे जस्तो भए पनि आरोप लागिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने धारणा नेकपाका कार्यकर्ताहरुले सामाजिक सञ्जालमा व्यक्त गरेको देखिन्छ ।

यसैबीच मन्त्री बास्कोटाले आजको नियमित पत्रकार सम्मेलनमा अडियोबारे आफ्नो धारणा राख्ने बताएका छन् । कञ्चनपुरको दक्षिणी क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी भइरहेका मन्त्री आजै काठमाडौं आउने र ३ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा धारणा राख्नेछन ।

पार्टी अध्यक्षद्वयको प्रतिक्रिया नआए पनि सचिवालयका केही सदस्यले भने उनलाई आजको सम्मेलनमा नै राजीनामाको घोषणा गर्न सुझाव दिएको बुझिएको छ ।

प्रधानमन्त्रीका विश्वासपात्रका रुपमा चिनिने मन्त्री बाँस्कोटाको अडियोले पार्टी र सरकारको छविमा असर पर्ने भएकोले आन्तिरक कामको जिम्मेवारी मिलाउने गरि मन्त्रीबाट राजीनामा दिन प्रधानमन्त्रीले समेत निर्देशन दिन सक्ने समेत आँकलन गरिएको पाइन्छ ।

कमेन्ट गर्नुहोस्