अनेरास्ववियूको बाँस्कोटालाई सुझाव– राजीनामा दिएर छानबिनमा सहयोग गर्नुस्

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा घुस मागेको अडियो सार्वजनिक भएपछि उनले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नसमेत माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सञ्चारमन्त्रीज्यूले राजीनामा दिएर मार्गप्रशस्त गर्ने र यो घटनाको सत्यतथ्य छानबिन गरी कानुनी दायरामा ल्याउनु नै उचित हुन्छ ।’

यसैगरी उनले दोषी देखिए बाँस्कोटा कानुनबमोजिम सजायको भागीदार हुने भन्दै सहकर्मीलाई धैर्य गर्न आग्रह गरेका छन् । आफूले कांग्रेस निकट विद्यार्थी संगठनजस्तो भ्रष्टाचार आरोपी जोगाउन सडकमा नउत्रिने स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘साथीहरु धैर्य गर्नुुस्, दोषी भए कानुनबमोजिम गोकुल बाँस्कोटा सजायको भागिदार हुनेछन्, हामी आलम र गच्छदारलाई जोगाउन सडकमा गएजसरी जाँदैनौं ।’

त्यस्तै अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले अडियो टेप काण्डबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

उनले भनेका छन्, ‘सरकार ! जे सुनिएको छ, जे देखिएको छ, जनता जान्न चाहन्छ, संञ्चारमन्त्रीको डियोटेप के हो ? यसबारे तत्काल स्पष्ट गरियोस !’

कमेन्ट गर्नुहोस्