खतिवडालाई सञ्चार तथा नेम्वाङलाई शहरी विकास मन्त्रालयको जिम्मा

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँस्कोटाले दिएको राजीनामा स्वीकृत गरेकी हुन् । बाँस्कोटाको राजीनामा स्वीकृतपछि सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडालाई दिइएको छ ।

बाँस्कोटाले नै सम्हाल्दै आएको शहरी विकास मन्त्रालय भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्ने भएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा घुस मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले बिहीबार प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।

कमेन्ट गर्नुहोस्