टी–२० सिरिजः हङकङविरुद्ध मलेसिया विजयी

काठमाडौंः मलेसियासँगको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा हङकङ ‘डिएल मेथड’का आधारमा २१ रनले पराजित भएको छ । मलेसियाले दिएको ८३ रनको लक्ष्य पछ्याएको हङकङले ९ ओभरमा ८ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो । उसका लागि हारुन अर्सदले १८, शाहिद वासिफले अविजित २६ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा मलेसिया टीमका खिजार हयातले सर्बाधिक ५ विकेट लिए । उनको यो डेब्यू म्याच हो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले १६.३ ओभरमा १ सय २३ रन बनायो । वर्षाका कारण १८ ओभरमा झारिएको खेलमा पुनः पानी परेपछि मलेसियाले हङकङलाई ९ ओभरमा ८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

सिरिजको पहिलो खेलमा मलेसियाका लागि कप्तान अहमद फैजले ४०, वीरन्दीप सिंहले ३२, सायद अजिजले अविजित २७ रन बनाए । बलिङमा अफ्ता हुसैन, एहसान खान र इजाज खानले एक–एक विकेट लिए । आजको जितसँगै घरेलु टोली मलेसियाले ५ खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ । मलेसिया र हङकङले एसीसी इस्टर्न रिजन कप खेल्नुअघि टी–२० सिरिज खेलिरहेका हुन् ।

इस्टर्न रिजन कप फेब्रुअरी २९ देखि मार्च ७ सम्म थाईल्याण्डमा सुरु हुँदैछ । यो प्रतियोगितामा इस्टर्नबाट मलेसिया, हङकङसहित नेपाल सिंगापुर, थाइल्याण्डले पनि सहभागिता जनाउने भएका छन् । चीन, म्यानमार र भुटानले भने कोरोना भाइरसका कारण यो प्रतियोगिता नखेल्ने भएका छन् ।

नयाँ खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा २९ फेब्रुअरीमा मलेसियासँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेलमा १ मार्चमा हङकङसँग, तेस्रो खेलमा ४ मार्चमा थाईल्याण्ड र अन्तिम खेलमा ६ मार्चमा सिंगापुरसँग खेल्ने छ । प्रतियोगिताको शिर्ष २ टीम एसिया कप छनोटमा प्रवेश गर्ने छन् । तीन टीमले सहभागीता नजाउने भए पनि खेल राउन्ड रोबिनमा हुने भएको छ ।

कमेन्ट गर्नुहोस्