पाकिस्तान सुपर लिगः बाबर आजमको टिमको विजयी सुरुवात

काठमाडौंः पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत पेशावर जाल्मीविरुद्ध कराँची किंग्स १० रनले विजयी भएको छ ।

कराँचीले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको जाल्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन मात्र बनाउन सक्यो ।

उसका लागि लायम लिभिस्टोनले अर्धशतक बनाए पनि टीमलाई जित दिलाउन सकेनन् । उनले २९ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै अविजित ५४ रन बनाए । यस्तै कमरन अकमलले ४३, कप्तान डारेन स्यामीले ३०, लियाम डासनले २२, सोयब बलिकले १३ र टम ब्यान्टनले १३ रनको योगदान दिए ।

बलिङमा कराँची टीमका उमैद आसिफ, क्रिस जोर्डनले २–२, क्यामरन डेलपोर्ट र मोहम्मद आमिरले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको कराँचीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १ रन बनायो ।

उसका लागि बाबर आजमले शानदार ब्याटिङ गरे । उनले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७८ रन बनाए ।

यस्तै कप्तान इमाद वसिमले ५०, क्यामरोन डेलपोर्टले २०, सरजील खानले १९, इफ्तिखार अहमदले नटआउट १६ र चाडविक वाल्टनले अविजित ९ रन बनाए । बलिङमा पेशावर जाल्मीका हसन अलिले २ र मोहम्मद मोहसिनले एक विकेट लिए ।

पीएसएलको यो पाँचौ संस्कण हो । यो संस्करणको फाइनल २२ मार्चमा लाहोरमा हुनेछ । पीएसएल २०२० मा ६ टिमले खेल्दै छन् । पाँचौ सिजनको पीएसएलको विजेता टिमले ५ करोड ६० लाख रुपैयाँ पाउने छ । यस्तै उपविजेता टोलीले २ करोड २८ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

गत संस्करणको पीएसएलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पनि खेलेको थिए । उनले लाहोर कलन्दर्सबाट पीएसएल २०१९ को सिजन खेलेका थिए । तर, यो पटककको पाकिस्तान सुपर लिगको अक्सनमा भने सन्दीपलाई कुनै पनि टिमले किनेनन् । उनले एक करोड ‘बेस प्राइस’कासाथ अक्सनमा नाम दर्ता गराएका थिए ।

कमेन्ट गर्नुहोस्