८१ वर्षीय इ‌ंग्लिश बाजेको दैनिकीः दूध बेच्न २० किलोमिटर साइकल यात्रा!

मोरङः उमेरले आठ दशक नाघे पनि मोरङको पथरीशनिश्चरे–१० का टङ्कनाथ गौतम अझै साइकल मै आफ्नो यात्रा तय गर्छन् ।

२७ वर्षको छँदा भारत, पश्चिम वङ्गालको मादरीहाटमा उनले पहिलो पटक साइकल कुदाउन सिके । त्यसयता उनले साइकल छोडेका छैनन् । उनी अझै दैनिक २० किलोमिटर साइकलबाट यात्रा तय गछन् ।

साइकल कुदाउने मात्र होइन । घरका सबै काम उनी आफैं भ्याउँछन् । उनले गाई पालेर दूधको ब्यापार गर्न थालेको २२ वर्ष भयो । उनले भने–‘गाईलाई खोले, घाँस, कुडो, पानी आफैं गर्छु । आफै दुहुन्छु र आफैं ग्राहकका घर घरमा लगेर बिक्री गर्छु ।’

ठूलो साइकलमा एउटा झोला । त्यो झोला भित्र आधा लिटर, एक लिटर र दुई लिटरका स–साना भाडामा दूध । अनि उनको दैनिकी सुरु हुन्छ । साइकलको घण्टी बजाउँदै ग्राहकका घर–घरमा पुग्नु हुन्छ र दूध बेच्छन् । त्यति मात्र होइन । खेतीपातीको काममा पनि उनको सक्रियता घटेको छैन । खन्ने आली लगाउने, धान, मकै गोड्न पनि उनी आफै निस्किन्छन्

उनको अर्को छुट्टै विशेषता छ । स्थानीयले उनलाई इङ्लिश बा भनेर चिन्ने गरेका छन् । केटाकेटीमा भूटान बस्दा कक्षा ८ सम्म पढेका गौतम अझै पनि फररर अंङग्रेजी बोल्छन् ।

बोर्डिङ पढ्ने बालबालिका र किशोर किशोरीहरूसँग उनी अंग्रेजी मै सम्वाद गछन् । मुखमा एउटै दाँत छैनन् । न टाउकोमा कालो कपाल । तर पनि उनमा २०÷२५ वर्षको टिठाको जस्तै जोश र जाँगर छ । उनी भन्छन्, ‘हामीले जस्तो ग्रामर मिलाएर अहिलेका विद्यार्थीले बोल्दैनन् ।
२०३५ सालमा शनिश्चरे आएका गौतमलाई स्थानीय सिंहवाहिनी मा.विले अङ्ग्रेजी पढाउन बोलाएको थियो । तर, उसबेलाको तलवले गौतमलाई स्कुल पढाउने भोक जगाउन सकेन ।

गौतमले आसाम रेजिमेन्टमा ७ वर्ष जागिर पनि खाए । तर त्यहाँ पनि उनी टिक्न सकेनन्  । उनले भने, ‘तलव नै थोरै थियो, त्यसैले छुट्टीमा घर आएको बेला जागीरमा गइन् । ८१ वर्ष पुग्नै लाग्दा पनि उनलाई कुनै रोगले भेटेको छैन । गौतमले साइकल कुदाएकै कारण रोग नलागेको सङ्केत गरे ।

अंग्रेजीमा अब्बल टङ्कनाथ अचेल बेद, रुद्री र दैनिक पूजा विधिका पुस्तक पढेर मन्दिरमा पूजारी काम गछन् । बिहानै सबेरै उठेर उनी गाई दुहुन्छन् । दूध ग्राहकको दिइ सकेपछि उनी राधाकृष्ण मन्दिर र विन्ध्यवासिनी मन्दिरमा दैनिक पूजापाठ गछन् । दुई वटा मन्दिरको पूजापाठ सकेर घर फर्किदा ९ बज्छ । उनले आफ्नो दैनिकी सुनाए । –गाेरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्