इतिहास र वीरताको योगदानको कदर गर्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले इतिहासको बारेमा अध्ययन गर्नुपर्ने बताएका छन् । इन्द्र दह एकीकृत पर्यटन विकास समितिको आयोजनामा आज यहाँ आयोजित ‘चौँथो इन्द्र दह पर्यटन महोत्सव’को उद्घाटन गर्दै उनले नेपालको गौरवपूर्ण इतिहासको बारेमा नयाँ पुस्ताले अध्ययन गर्नुपर्ने बताएका हुन् । ‘इतिहासको कदर र वीरताको योगदानको कदर गर्नुपर्छ’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले काजी कालु पाँडेले आफ्नो गर्दन दिएर देशलाई एकीकरणको बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। साहसी, दूरदर्शी र प्रेरणा दिनसक्ने व्यक्ति कालु पाँडे भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको इन्द्र दहको विकासका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले देशभरका वीरताको इतिहास झल्काउने किल्लाको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्नेमा जोड दिए । महोत्सवसँगै दहचोकको स्वरुप फेरिन थालेको उनको भनाइ थियो ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दहचोक महोत्सवको निरन्तरताका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए । उनले वाग्मती प्रदेशले पर्यटन क्षेत्रको विकासका लागि विशेष योजना अगाडि सारेको उल्लेख गरे ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले दहचोकको समग्र पर्यटनको विकासमा केन्द्रीकृत हुँदै दहचोकलाई आन्तरिक तथा बाह्य पर्यटकको महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्न पर्यटन महोत्सव आयोजना गरिएको जानकारी दिए । समितिका अध्यक्ष हरिशरण थापाले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सबै मिलेर सफल बनाउनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्