टी–२० सिरिजः हङकङविरुद्ध मलेसियाको शानदार जित

काठमाडौंः मलेसियासँगको टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा पनि हङकङ ३५ रनले पराजित भएको छ । आज मलेसियाले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन मात्र बनाउन सक्याे ।

उसका लागि वाकास बराकातले ३५, इजाज खानले अविजित ३१ र हमीद खानले १० रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा मलेसिया टीमका वीरन्दीप सिंह, फित्री सामले ३–३ र स्याजारुल इद्रसले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली मलेसियाले वर्षाका कारण १९ ओभरमा झारिएको खेलमा ६ विकेट गुमाएर १ सय ३८ रन बनायो । उसका लागि विरन्दीप सिंहले ४६, कप्तान अहमद फैज, सायद इजाजले २१–२१ र शार्विन मुनिआन्डीले अविजित १६ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् ।

बलिङमा हङकङ टीमका अफ्ताब हुसैन, अजैज खानले २–२ र वकास बराकातले एक विकेट लिए । आजो जितसँगै पाँच खेलमा सिरिजमा मलेसियाले २–० को अग्रता बनाएको छ । उसले पहिलो म्याचमा हङकङलाई २१ रनले हराएको थियो ।

इस्टर्न रिजन कप फेब्रुअरी २९ देखि मार्च ७ सम्म थाईल्याण्डमा सुरु हुँदैछ । यो प्रतियोगितामा इस्टर्नबाट मलेसिया, हङकङसहित नेपाल सिंगापुर, थाइल्याण्डले पनि सहभागिता जनाउने भएका छन् । चीन, म्यानमार र भुटानले भने कोरोना भाइरसका कारण यो प्रतियोगिता नखेल्ने भएका छन् ।

नयाँ खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा २९ फेब्रुअरीमा मलेसियासँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेलमा १ मार्चमा हङकङसँग, तेस्रो खेलमा ४ मार्चमा थाईल्याण्ड र अन्तिम खेलमा ६ मार्चमा सिंगापुरसँग खेल्ने छ । प्रतियोगिताको शिर्ष २ टीम एसिया कप छनोटमा प्रवेश गर्ने छन् । तीन टीमले सहभागीता नजाउने भए पनि खेल राउन्ड रोबिनमा हुने भएको छ ।

कमेन्ट गर्नुहोस्