टी–२० सिरिजः दक्षिण अफ्रिकाविरुद्ध अष्ट्रेलिया १०७ रनले विजयी, एष्टनको ह्याट्रिक

काठमाडौंः अष्ट्रेलियासँगको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा घरेलु टोली दक्षिण अफ्रिका १ सय ७ रनले पाजित भएको छ । अष्ट्रेलियाले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १४।३ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो ।

उसका लागि फाफ डुप्लेसिसले २४, कागिसो रबाडाले २२, पिटीभान बिल्जोनले १६ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा अष्ट्रेलिया टीमका स्पिनर एश्टन अगरले हयाट्रिकसहित ५ विकेट लिए ।

यस्तै एडम जम्पा, प्याट कमिन्सले २–२ र मोचेल स्टार्कले एक विकेट हात पार्न सफल भए । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको पाहुना टोली अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनायो ।

उसका लागि स्टिभ स्मिथले ४५, कप्तान आरोन फिन्चले ४२, एलेक्स क्यारीले २७, मिचेल मार्शले १९, म्याथ्यू वेडले १८ र एश्टन अगरले अविजित २० रनको योगदान दिए ।

बलिङमा दक्षिण अफ्रिका टीमका डेल स्टेन, तरबिज शम्सीले २–२, एन्डिले फेहलक्वायो र लुंगि एन्गिडीले एक–एक विकेट लिए । यो जितसँगै तीन खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ । यी दुई टीमबीचको दोस्रो खेल आइतबार साँझ हुनेछ ।

कमेन्ट गर्नुहोस्