एमसीसी कुनै बाइवल होइन, परिमार्जनसहित अनुमोदन हुन्छः अध्यक्ष प्रचण्ड

चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसीसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले एमसीसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताएका हुन् ।

शुक्रबार एमसीसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास दाहालले व्यक्त गरे । उनले भने, ‘एमसीसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसकेको अध्यक्ष प्रचण्डले बताए ।

उनले सरकारको कामका विषयमा आजदेखि शुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताए । वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उनले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताए । फरक प्रसङ्गमा उनले नेकपाभित्र आन्तरिक विवाद नरहेको पनि स्पष्ट गरे ।

कमेन्ट गर्नुहोस्