कस्तो छ धुर्मुस–सुन्तलीको ‘सेन्टी भाइरस’?

रीना मोक्तानः पछिल्लो समय सबैको रोजाईमा परेका निर्देशक हुन् रामबाबु गुरुङ । ‘कबड्डी’बाट निर्देशनमा आफ्नो छुट्टै छाप छोड्न सफल रामबाबुले यो पटक सिताराम कट्टेल(धुर्मुस)को नयाँ फिल्म निर्देशन गरेका छन्, ‘सेन्टी भाइरस’ ।

शुक्रबारबाट प्रदर्शनमा आएकाे गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ फिल्ममा सामाजिक अभियान्ताद्वय कलाकार कट्टेल र कुञ्जना घिमिरे(सुन्तली)को प्रमुख भूमिका छ ।

टेलिश्रृङ्खला ‘मेरी बास्सै’बाट दर्शक हसाउँदै आएका यी दुई धुर्मुस सुन्तली जोडिएसँगै अपेक्षित हो, हाँसो। फिल्ममा दर्शक हँसाउने अनेकन संवाद छन्। फिल्ममा निर्देशक गुरुङ स्वयं दर्शक हँसाउन केन्द्रित छन्। सेन्टीभाइरस त्यसैको प्रतिफल हो।

पछिल्लो समययता फिल्मकर्मीमा दर्शकले कमेडी मनपराउँछन् भन्ने मनोविज्ञान गढेर बसेको छ। निर्देशक गुरङले लेखेको कथा अनि पटकथामा यही मनोविज्ञान हाबी देखिन्छ।

फिल्मको कथा हो, छथर जोरपाटीको। गाउँमा प्रतिनिधि सभाको चुनाव लागेको छ। सुर्यविक्रम(बसन्त भट्ट) जनउत्थान पार्टीको उम्मेद्वार हो। उसँग पैसा अनि शक्ति छ। पार्टीको सिद्धान्त विपरित जानै नसक्ने बलियो कार्यकर्ता धुर्वरामको साथ छ। त्यस्तै पछिल्लो वर्ष पनि चुनाव हारेका खगेन्द्र(राजाराम पौडेल)ले यसपटक फेरि चुनावको लागि टिकट पाउँछ।

प्रतिपक्षी खगेन्द्रको पृष्ठभूमी कमजोर छ। छोरी जूनेली(कुञ्जना)को पूरा समर्थन। एकता बस्ती दुई पार्टीका लागि निर्णायक भोट हुन्। पति धुर्वराम जनउत्थान पार्टीको सिद्धान्त पछाउने यता पत्नि जूनेली लोकतान्त्रिक पार्टी । जूनेली पति धुर्वरामलाई लोकतान्त्रिक पार्टीमा समावेश गरेर बुबालाई जिताउन चाहन्छिन्। पुर्ख्यौली पार्टी छोड्न नचाहने धुर्वरामले के ससुरा खगेन्द्रलाई साथ देलान् ?

चुनावी प्रतिस्पर्धामा पति र पत्नीबीच हुने संघर्षमै घुमेको छ फिल्मको कथा । यो फिल्मको केन्द्रिय द्वन्द्व अलमलमा छ। मुख्य पात्रहरु कहिले चुनावका लागि संघर्ष गर्छन् त कहिले एकता बस्तीका लागि। निर्देशक गुरुङले एकपछि अर्को समस्या सिर्जना गर्न खोज्दा फिल्म विषयान्तर भएको छ।

दुई पार्टीबीचको प्रतिस्पर्धा देखाउनसाथ सुकुम्बासी बस्तीमा चल्ने डोजरको समस्या फिल्ममा जबरजस्ती घुसाइएको छ। यस्ता बस्तीमा हुने डोजर काण्डका गम्भिर विषयलाई निर्देशकले सतहीमै छोडेका छन्। यसअर्थमा निर्देशक रामबाबु र लेखकद्वय कुमार कट्टेल र दीपक आचार्य गम्भीर देखिनन् । उपकथामा विशेष ट्रिटमेन्ट आवश्यक लाग्छ।

२ घण्टाको फिल्मले दर्शक होल्ड गराउन सक्दैन। फिल्म हेरिरहँदा लाग्छ पति पत्नीकै झगडा मात्र छ फिल्ममा। निर्देशक गुरुङ निर्देशनमै चिप्लिएका छन्। कतै पनि उनको निर्देशकिय कला झल्किन्न। फिल्मको क्लाइमेक्स निकै कमजोर छ।

दृश्यलेभन्दा पनि संवादले दर्शक हँसाउने प्रयास नेपाली फिल्मको पुरानो रोग बन्दै गएको छ। यही रोगबाट ग्रसित देखिए रामबाबु पनि। फिल्ममा धुर्मुस र सुन्तलीको चर्को आवाजले दर्शक हँसाउने प्रयास भएको छ। फिल्ममा उनी दुईको अभिनय ‘मेरी बास्सै’को भन्दा खास छैन। टेलिश्रृङ्खलामा मुख बङ्गाउँथे फिल्ममा त्यसैको मात्र कमी छ। सूर्यविक्रमको अभिनय निभाएका बसन्तको अभिनय पात्रलाई न्याय दिन्छ।

कमेडियनहरुको बाक्लो भिड फिल्ममा कमेडीकै लागि समावेश गरिएको हो। बुद्धि तामाङ, विल्सन विक्रम राई, पवन खतिवडालगायतको कमेडियनहरुको भीडमा दयाहाङ राईलाई पनि मिसाइएको छ। रामबाबुका फिल्ममा दया छुट्दैनन्। साथी रामबाबुकै लागि यस्ता फिल्ममा अभिनय गर्ने दयाहाङ राई दर्शकप्रति अब इमान्दार छैनन् भन्ने प्रमाणित हुन्छ। यस्तै विषयमा काम गर्दै जाने हो भने दयाहाङको करियर पनि ओरालो लाग्ने निश्चित हो। यस्तै फिल्म निर्देशन गर्न थाले रामबाबुलाई दर्शकले पत्याउन छोड्नेछ।

फिल्ममा राजनीतिको विषय उठाउन खोजिएको छ। जबकि राजनीति वा सामाजिक मुद्दा घुसाउन साथ फिल्मको वजन बढ्ने होइन। जब त्यसको प्रस्तुति विश्वनिय र गहिरो हुन्न। बरु फिल्मको आधा आम्दानी रंगशाला दिने भनेर दर्शकको संवेदनालाई क्यास गर्न खोजेको जस्तो देखिन्छ। तर, फिल्म हेर्दा त्यो अपेक्षाकृत खुराक नपाउँदा तीनै दर्शकको मन खल्लो हुन्छ।

यस किसिमको फिल्मले न दर्शकको दायरा बढाउँछ, न रचनात्मक रुपमा नेपाली फिल्मलाई योगदान दिन्छ। बरु आशातित फिल्मकर्मीसँग दर्शक भड्कन सक्छन्। कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्