नेकपा सचिवालय बैठकमा अडियो प्रकरणबारे गम्भीर छलफल, बाँस्कोटालाई निलम्बन गर्नुपर्ने प्रस्ताव मानेनन्

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा गोकुल बाँस्कोटाले कमिसन लिनेका लागि गरेको बार्गेनिङका बारेमा छलफल भएको छ ।

पार्टी बैठकमा बाँस्कोटालाई निलम्बन गरेर छानबिन गर्नुपर्ने प्रस्ताव आए पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका निकायले छानबिन गरिरहेकाले अन्य कुरा नगर्न बैठकमा आग्रह गरे ।

बैठकमा सचिवालय सदस्यले पार्टीका तर्फबाट छानबिन समिति बनाउनु पर्ने र पार्टीबाट निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर ओलीले अख्तियारलगायत विभिन्न निकायले यो प्रकरणमा छानबिन गरिरहेको बताएपछि निलम्बन र छानबिनका लागि समिति नबनेको स्रोतको भनाइ छ ।

त्यस्तै आजको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानका विषयमा अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन पेश भएको छ ।

नेकपाको एमसिसी अध्ययन कार्यदलले एमसीसी सम्झौता यथास्थितिमा अनुमोदन नगर्न पार्टीलाई सुझाव दिएपछि पहिलो पटक सचिवालय बैठक बसेको हो । अब अर्को बैठकमा एमसिसीका विषयमा छलफल हुनेछ ।

वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले अध्यक्षद्वय ओली र प्रचण्डलाई शुक्रबार सुझावसहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा सम्झौता नसच्याई संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई सुझाव दिइएको छ ।

कमेन्ट गर्नुहोस्