तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

कञ्चनपुरः नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको छ । भीमदत्त नगरपालिकाले भ्रमण वर्षलाई मध्यनजर गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धन गराउन महोत्सव आयोजना गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसारमा पत्रकार सम्मेलन गरी महोत्सव घोषणा गरिएको छ । निकुञ्जको शुक्लाफाँटा घाँसे मैदानमा कार्यक्रम गरी महोत्सव उद्घाटन गरिने कार्यक्रम राखिए पनि बर्षाका कारण हात्तीसारमा गरिएको हो ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर सुनारको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा संघीय कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा.दिपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावल, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट सहित जनप्रतिनिधि, उद्यमी व्यवसायी, पर्यटन व्यवसायी, पत्रकार, स्थानीय सहभागी भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य सुनारले महोत्सवले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहित नगर क्षेत्रका विभिन्न धार्मिक पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय हिसाबले निकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो, यहाँ अरु पनि छन्, झोलुङ्गे पुल छ, धार्मिक पर्यटकीय स्थल छन्’ प्रदेश सभा सदस्य सुनारले भने, ‘यो महोत्सवबाट पर्यटन प्रवद्र्धन हुन्छ, त्यसबाट यहीका वासिन्दालाई फाईदा हुन्छ ।’

प्रदेश सदस्य सुनारले महोत्सवबाट नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग पुग्ने अपेक्षा राखे । सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सहित सुरु गरेको भ्रमण वर्षलाई सफल बनाउन सुदूरपश्चिम प्रदेश सरकार पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिरहको सुनारको भनाई थियो ।

पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार सहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सभा सदस्य सुनारले भीमदत्त नगरपालिकाको पर्यटन प्रवद्र्धन अभियानलाई प्रदेश सरकारले सहयोग गर्ने बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावलले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहित पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गरिनु पर्नेमा जोड दिए । ‘शुक्लाफाँटा निकुञ्ज सबैभन्दा बढी बाह्रसिंगाको झण्ड भएको निकुञ्ज हो, यस्तो झुण्ड अन्त कही देख्न सकिदैन, यो महोत्सवबाट यसको प्रचारप्रसारमा सहयोग पुग्छ’ प्रदेश सभा सदस्य रावलले भने ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले महोत्सव आयोजना सम्बन्धि जानकारी गराउँदै शुक्लाफाँटा रष्ट्रिय निकुञ्जलाई पर्यटकीय हब बनाउने सपना बोकेर महोत्सव आयोजना गरिएको बताए ।

‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुला विश्वविद्यालय जस्तै छ, यसलाई पर्यटकीय हब बनाउन सपना बोकेर नगरपालिका लागि परेको छ’ नगर प्रमुख विष्टले भने, ‘शुक्लाफाँटालाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित महोत्सव आयोजना गरिएको छ, यो महोत्सवमा बढी भन्दा बढी सहभागीलाई निकुञ्ज अवलोकन गराउने चाहन्छौ ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन पर्यटन प्रवद्र्धनका लागि निकुञ्ज कार्यालय, तीन तहका सरकार, निजी क्षेत्र सबैले गर्दै आएको प्रयासको सराहना गर्दै नगर प्रमुख विष्टले भीमदत्त नगरपालिका सधैं साथ दिने बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि शुक्लाफाँटा पर्यटन मार्ग, झोलुङ्गे पुल नजिक उद्यान र पिकनिक स्पट, निर्माण, झोलुङ्गे पुलमा सौर्यबत्ती जडान, राना थारु होमस्टेलाई सहयोग र निकुञ्जको घाँसे मैदानमा कार्यपालिकाको बैठक गरिएको नगर प्रमुख विष्टले बताए ।

‘भीमदत्त नगरपालिका स्थानीय सरकारले सक्ने जति सबै सहयोग गर्छ, यो निकुञ्जको पर्यटन प्रवद्र्धनमा नगरपालिका एक्लैले धेरै गर्न सक्दैन, त्यसैले पर्यटन प्रवद्र्धनका लागि साझेदारी र सहकार्यका आधारमा अघि बढ्न चाहन्छौ’ नगर प्रमुख विष्टले भने, ‘यसका लागि सबैलाई साथ र सहयोगका लागि आव्हान गर्छु ।’

उद्घाटन कार्यक्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडेल, कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्ल लगायतले पर्यटन प्रवद्र्धनका लागि सहकार्य गरी जानेमा जोड दिए ।

भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष कर्ण बहादुर चन्दले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे । उपाध्यक्ष चन्दले महोत्सव सफल बनाउन सबै क्षेत्रसित सहकार्य र समन्वय गरिएको बताइन् ।

फागुन १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा निकुञ्ज कार्यालय र हात्तीसारको प्रवेशद्वार खुला गरिएको छ । गत वर्ष निकुञ्ज कार्यालयबाट मात्रै पर्यटकहरुलाई निकुञ्ज प्रवेश गराइएको थियो ।
महोत्सवको आठौ दिनलाई भव्य बनाउने कार्यक्रम तय गरिएको छ । फागुन १६ गते राष्ट्रपति विद्यादेबी भण्डारीको उपस्थितमा विशेष कार्यक्रम आयोजना गरिने पर्यटन विकास समितिका उपाध्यक्ष चन्दले बतायन् ।

महोत्सव अवधिमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकनका लागि विभिन्न क्षेत्रबाट कार्यक्रम गरिएका छन् । विद्यार्थी, व्यवसायी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला लगायतलाई निकुञ्जभित्र घुमाउने कार्यक्रम बनाइएका छन् ।

महोत्सव अवधिमा काठमाडौंबाट वन, वातावरण तथा विज्ञान संकायका विद्यार्थीहरु समेत आउने भएका छन् । महेन्द्रनगर बजारदेखि निकुञ्ज कार्यालय हुँदै झोलुङ्गे पुलसम्म साइकल  र्‍याली आयोजना गर्ने कार्यक्रम पनि राखिएका छन् ।

महोत्सव अन्र्तगत माध्यमिक तहका विद्यार्थीहरुको वक्तृत्वकला प्रतियोगिता समेत राखिएको छ ।

शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको फागुन ९ गतेका दिन शुक्लाफाँटा पर्यटन महोत्सव गरिएको हो । शुक्लाफाँटालाई पर्यटकीय क्षेत्र बनाउन निकुञ्ज घोषणा गरिएको थियो ।

यसैबीच महोत्सवको अवसर पारी मझगाउँ चोकको नाम बाह्रसिंगा नामाकरण गरी बाह्रसिंगाको मूर्ति राखिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर सुनारले मूर्तिको अनावरण गरे ।

कमेन्ट गर्नुहोस्