५ वटा प्रदेश डीआईजी विहीन, महत्वपूर्ण विभाग पनि निमित्तकै भरमा

काठमाडौंः समयमै एआईजी र डीआईजी नियुक्त नहुँदा पाँचवटा प्रदेश र महत्वपूर्ण विभाग निमित्तको भरमा चलेको छ ।

समयमै एआईजी र डीआईजी नियुक्तीको प्रक्रिया सुरु नहुँदा ‘चेन अफ कमान्ड’मा चल्ने सुरक्षा संगठन निमित्तको भरमा चलेको हो । केहीदिन अघि आईजीपी सर्वेन्द्र खनालसँगै तीन एआईजी र १७ डीआईजीले अवकाश पाएपछि रिक्त रहेका विभिन्न पदको पूर्ति भएको छैन ।

आवश्यकताभन्दा बढी आकांक्षी देखिएकाले पनि बढुवा प्रक्रियामा ढिलाइ भएको बताइन्छ । सातवटै प्रदेशमा डीआईजी नेतृत्वमा संगठन रहेको हुन्छ भने तीन विभागको नेतृत्व एआईजीले गर्छन् ।

हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक (आईजी) हुनुअघि डीआईजीका रुपमा प्रदेश–१ मा कार्यरत थिए ।

उनी आईजीपी बनेपछि प्रदेश–१ एसएसपीको भरमा चलेको छ । प्रदेश–२ मा भने डीआईजी प्रद्युम्न कार्की छन् । प्रदेश ३, ४, ५ र ६ मा पनि डीआईजी छैनन् । यसअघि प्रदेशको नेतृत्व गरिरहेका डीआईजी २८ फागुनमा अवकाशमा गएका थिए ।

प्रदेश–७ मा भने तारणी लम्साल छन् । उनी हाल एआईजीको दौडमा छन् । हाल ७ जना डीआईजी तीन एआईजीको प्रतिस्प्रर्धामा छन् ।

यसबाहेक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, मानव स्रोत एवं प्रशासन विभाग र कार्य एवम् अपराध अनुसन्धान विभागको नेतृत्व एआईजीले गर्छन् । तर हाल डीआईजी नभएका प्रदेश र ३ विभागको नेतृत्व वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी०ले गर्दै आएका छन् । प्रहरी अधिकारीका अनुसार प्रदेश लामो समयसम्म डीआईजीविहीन हुनु सुरक्षाका दृष्टिले समेत राम्रो मानिँदैन ।

को को छन् डीआईजीका प्रतिस्पर्धि ?

गृह स्रोतका अनुसार एआईजी बढुवा नभइ डीआईजी वढुवा हुने सम्भावना कम छ । डीआईजी बढुवाका लागि एसएसपी घनश्याम अर्याल, गणेशबहादुर ऐर, वसन्तकुमार पन्त, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, देवबहादुर बोहोरा छन् ।

यस्तै धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, सहकुल थापा, दिवेश लोहनी, रविन्द्रबहादुर धानुकलगायतका एसएसपी डीआईजी बढुवाका दाबेदार हुन् ।

डीआईजी बढुवा सिफारिसका लागि गृह सचिवको नेतृत्वमा प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक वा प्रहरी नायब महानिरीक्षक सदस्य सचिव रहेको समिति हुन्छ ।

एआईजी र डीआईजीमा बढुवा भएसँगै एसएसपी, एसपी र डीएसपी वढुवासम्मको बाटो खुल्नेछ । १२ खरीबाट साभार

कमेन्ट गर्नुहोस्