विध्वंसात्मक प्रदर्शन गर्दै फ्युरी बने बक्सिङका नयाँ च्याम्पियन

काठमाडौंः टायसन फ्युरीले विध्वंसात्मक प्रदर्शन गर्दै बक्सिङ्ग विधाको च्याम्पियनको उपाधि जितेका छन् । ‘विश्व बक्सिङ काउन्सिल’ले सञ्चालन गरेको प्रतियोगितामा उनले डेन्टे विल्डरको लगातार पाँच वर्षको साम्राज्य अन्त्य गर्दै उपाधि जित्न सफल भए ।

लास भेगासमा सम्पन्न उपाधिको खेल सात राउण्डसम्म चलेको थियो । ३१ वर्षीय ब्रिटिश टायसन फ्युरीले कल्पना गरिएकोभन्दा पृथक खेल प्रस्तुत गर्दै प्रतिद्वन्दी विल्डरलाई त्रसित नै बनाउने शक्तिशाली मुक्का हान्दै तेस्रो र पाँचौं राउण्डमा जमिनमा लडाएका थिए । २०१८ मा फ्युरीले उनीसँग बराबरीमा टुंग्याउनु परेको थियो ।

विल्डरले ११ औं पटक उपाधि रक्षा गर्ने क्रममा अन्तिम राउण्डमा जमिनमा ढालिए । ३४ वर्षीय विल्डर रक्षात्मक रुपमा अगाडि बढ्दा चिप्लिएर लड्न पुगे । फ्युरी भने आफ्नो प्रतिज्ञा बमोजिम नै अगाडि बढे । सातौं राउण्डमा उनले ‘टावेल’ नआउँदासम्म विल्डरमाथि शक्तिशाली प्रहारलाई निरन्तर थपिरहे ।

सन् २०१५ मा विश्व च्याम्पियनको उपाधि लिएपछि टायसनले उपाधि हात पार्न लगातार पाँच वर्षसम्म निराशा बेहोर्नु परेको थियो ।

कमेन्ट गर्नुहोस्