नेपालसँग खेल्नुअघि राम्रो लयमा मलेसिया, तेस्रो खेलमा पनि हङकङलाई हरायो

काठमाडौंः हङकङसँगको टी–२० सिरिज घरेलु टोली मलेसियाले दुई खेल अगावै जितेको छ । आज तेस्रो खेलमा हकङकङलाई ८ रनले हराउँदै मलेसियाले दुई खेल अगावै पाँच म्याचको सिरिज ३–० ले जितेको हो ।

सिरिजको तेस्रो खेलमा मलेसियाले दिएको १ सय १ सय ५३ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो ।

उसका लागि वाकस खानले अर्धशतक बनाए पनि टीमलाई जित दिलाउन सकेनन् । उनले ४७ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ६० रन बनाए । यस्तै स्कट म्याकटेनीले अविजित ३८, एहसान खानले १५ र नजाकत खानले १० रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा मलेसिया टीमका स्याजारुल इद्रसले ३, फित्री सामले २, शार्विन मुनिआन्डी र वीरन्दीप सिंहले १–१ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन बनायो ।

उसका लागि कप्तान अहमद राजाले अर्धशतक बनाए । उनले ४६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५८ रन बनाए । यस्तै शार्विन मुनिआन्डीले २५, वीरन्दीप सिंहले १९, सायद अजिजले ११ र खिजार हयातले अविजित १० रन बनाए । बलिङमा हङकङ टीमका हारुन अर्सदले ४, आफताब हुसेनले ३, इजाज खान र किन्चित शाह एक–एक विकेट लिए ।

इस्टर्न रिजन कप फेब्रुअरी २९ देखि मार्च ७ सम्म थाईल्याण्डमा सुरु हुँदैछ । यो प्रतियोगितामा इस्टर्नबाट मलेसिया, हङकङसहित नेपाल सिंगापुर, थाइल्याण्डले पनि सहभागिता जनाउने भएका छन् । चीन, म्यानमार र भुटानले भने कोरोना भाइरसका कारण यो प्रतियोगिता नखेल्ने भएका छन् ।

नयाँ खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा २९ फेब्रुअरीमा मलेसियासँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेलमा १ मार्चमा हङकङसँग, तेस्रो खेलमा ४ मार्चमा थाईल्याण्ड र अन्तिम खेलमा ६ मार्चमा सिंगापुरसँग खेल्ने छ । प्रतियोगिताको शिर्ष २ टीम एसिया कप छनोटमा प्रवेश गर्ने छन् । तीन टीमले सहभागिता नजाउने भए पनि खेल राउन्ड रोबिनमा हुने भएको छ ।

कमेन्ट गर्नुहोस्