ट्रम्प भ्रमणमा रहेकै बेला दिल्लीमा किन प्रदर्शन ?

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दिल्ली भ्रमणको क्रममा नयाँ नागरिकता कानूनको विरुद्ध भएको प्रदर्शनमा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक प्रहरी र छ जना सर्वसाधारण रहेका छन् ।

मंगलबार बिहानसम्म दिल्लीमा एक जना प्रहरी अधिकृतसहित ७ जनाको ज्यान गएको छ भने करिब एक सयभन्दा बढी घाइते भएका छन् । त्यसमध्ये ४८ जनाको अवस्था गम्भिर भएको भन्दै अस्पतालमा भर्ना गरिएको छ ।

बीबीसीका अनुसार प्रदर्शनको क्रममा कानूनको पक्ष र विपक्षमा उत्रेका सर्वसाधारणहरुबीच द्विपक्षीय झड्प समेत भएको थियो । सो प्रदर्शनको क्रममा समर्थक र विरोधीले सवारीसाधनमा आगजनी गरेका थिए । मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताको तयारी गरिरहँदा दिल्लीको केही भाग तनावग्रस्त बनेको छ ।

मुस्लिम समुदाय बहुसंख्यक रहेको उत्तर–पूर्वी दिल्लीमा आइतबार सुरु भएको प्रदर्शन सोमबार दिनभरि जारी रह्यो । उक्त कानून मुस्लिम विरोधी रहेको भन्दै उत्तर–पूर्वी दिल्लीमा मुस्लिम महिला र पुरुषले प्रदर्शनको अगुवाइ गरेका हुन् ।

प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेपछि भिडलाई नियन्त्रण गर्न प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गर्दा सर्वसाधारणको मृत्यु भएको हो । झड्पको क्रममा अर्का एकजना प्रहरीको मृत्यु भएको थियो ।

सोमबार भारत भ्रमणको क्रममा अहमदाबाद पुग्नुभएका अमेरिकी राष्ट्रपति ट्रम्प मंगलबार दिनभरि दिल्लीमा उच्चस्तरीय भेटघाट र वार्तामा बिताउनेछन् ।

कमेन्ट गर्नुहोस्