ट्रम्पले सचिनलाई ‘सूचिन’उच्चारण गरेपछि…

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा छन् । अमेरिकी मीडियालाई फेक मिडिया भन्दै आलोचना गर्दै आएका ट्रम्पले भारत भ्रमणको क्रममा भारतीय क्रिकेटरदेखि बलिउडसम्मको चर्चा गर्न भ्याए । र, उनले उक्त चर्चा गरिरहँदा भारतीय सत्तारुढ दलका नेता, मन्त्रीदेखि उपस्थित सर्वसाधारणले पनि ताली बजाएर उनको सम्बोधनमा उत्साह थपेका थिए ।

भारतको अहमदाबादमा करिब एक लाख बढीले खचाखच भरिएको मोटेरा रङगशाला ट्रम्पको एक नामको उच्चारणले हाँसोसँगै तालीले गुञ्जयमान भयो । उनले विश्वकै चर्चित क्रिकेटर सचिन तेन्दुलकर र विराट कोहलीबारे टिप्पणी गर्दै भने, ‘भारतीय जनता विश्वकै चर्चित क्रिकेटर ‘सूचिन’ तेन्दुलकर र विराट कोहलीलाई लिएर उत्सव मनाउँछन् ।’ रङ्गशालामा उपस्थित दर्शकले ताली बजाउँदा नजिकै रहेका सत्तारुढ दलका नेता तथा मन्त्री भने हाँस्न थाले । तर त्यसको प्रभाव त्यत्तिकैमा रोकिएन । ट्रम्पलाई सामाजिक सञ्जालमा ‘ट्रोल’ गर्न सुरु गरियो । जसमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) र एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले पनि प्रतिक्रिया दिन भ्यायो ।

आइसीसीले ‘ट्रोल’ गर्दै गरेको ट्वीटमा करिब ७५४ जनाले रिट्वीट गर्न भ्याएका छन् । आइसीसीले सच–सुच–सैच–सुच–सूच लेख्दै १५ सेकेण्डको भिडियो अपलोड गरेको छ । जसमा अबदेखि सचिन तेन्दुकलरको नाम सू–चिन तेन्दुलकर राखेर प्रकाशित गर्नुपर्ने देखाइएको छ ।

रुद्रप्रताप सिंह भन्ने ट्वीटर प्रयोगकत्र्ताले आईसीसीको ट्वीटमा जवाब दिँदै लेखेका छन्, ‘राजनीतिक मामिलामा आइसीसीले किन चासो राख्नुपर्‍यो?, पक्कै कुनै लेफ्टिस्टले आइसीसीको ट्वीटर हयाण्डल गरेको हुनुपर्छ ।’ कुल्लै रेड्डीले लेखेका छन्, ‘उहाँको सल्लाहकारले यस्तो सूचना दिएको हुनुपर्छ, भारतीय क्रिकेटमा केही राम्रो हुँदैछ भने त्यो मेहन्द्रसिंह धोनीको कारणले हो, उहाँले कसरी धोनीको नाम ‘मिस’ गर्नुभयो?’

अमेरिकी राष्ट्रपति ट्रम्पको सामाजिक सञ्जालमा भने पहिलो पटक मात्रै ‘ट्रोल’ गरिएको हैन । यसअघि उनले स्वीडेनकी एक वातावरण अभियानीबारे टिप्पणी गर्दा सामाजिक सञ्जालमा उनको आलोचना गरिएको थियो । सेप्टेम्बर २४, २०१९ मा १६ वर्षीया ग्रेटा थन्वर्गले हाम्रो भविष्यलाई बर्बाद पार्ने अधिकार नरहेको बताउँदै चिन्ता व्यक्त गरेका थिए ।

संयुक्त राष्ट्र संघमा आफ्नो वक्तब्यको क्रममा थन्वर्गले वातावरण प्रदूषण न्यूनीकरणका लागि भूमिका नखेलेको भन्दै विश्वका शक्ति राष्ट्रको नेतृत्वको आलोचना गरेका थिए। ट्रम्पले उक्त वक्तब्य सुनेर मिजासिलो टिप्पणी गरेपछि उनको आलोचना गरिएको थियो ।

कमेन्ट गर्नुहोस्