खानीडाँडा विमानस्थलमा परीक्षण उडान सफल

खोटाङः जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सबैभन्दा नजिक पर्ने मनमाया राई खानीडाँडा विमानस्थलमा आज गरिएको परीक्षण उडान सफल भएको छ ।

वि.सं २०७५ जेठ १ गते गएको पहिरोले अवरुद्ध खानीडाँडा विमानस्थल पुनःमर्मतपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले गरेको परीक्षण उडान सफल भएको हो । अवरुद्ध विमानस्थलमा परीक्षण उडान सफल भएसँगै नियमित उडान भर्नका लागि सम्बन्धित निकायमा पहल थालिएको प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले बताए ।

‘खानीडाँडा विमानस्थल सबैको पायक पर्ने ठाउँमा रहेको विमानस्थल हो ।’ उनले भने, ‘विशेष गरी जिल्ला अस्पताल दिक्तेलबाट रिफर गरिएका बिरामीलाई अन्यत्र लैजान प्रयोग गरिने खानीडाँडा विमानस्थलाई नियमित सञ्चालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आग्रह गरिएको छ ।’

परीक्षण उडानका क्रममा सोही विमानमा आएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका प्रदेशसभा सदस्य पासाङले कम्तीमा पनि हप्तामा दुई पटक उडान गर्ने वातारण मिलाइने बताए । बिहान करिब १०ः३० बजे खानीडाँडा विमानस्थलमा अवतरण भएको सो विमानमा अर्का प्रदेशसभा सदस्य एवं जग्गादाता उषाकला राई, नेपाल वायु सेवा निगमका अप्रेसन विभाग प्रमुख दिपुराज ज्वारचनलगायतका टोली निरीक्षणमा आएका थिए ।

परीक्षण उडान तथा अनुगमनका क्रममा सहभागी जिल्लावासीले खानीडाँडा–काठमाडौँ मात्र नभई खानीडाँडा–विराटनगर पनि नियमित उडान भर्ने व्यवस्था गर्न निगम समक्ष माग गरेका छन् । सो अवसरमा निगमका अप्रेशन विभाग प्रमुख ज्वारचनले पहिलो चरणमा खानीडाँडा–काठमाडौँ हप्ताको दुई पटक मङ्गलबार र शनिबार नियमित उडान भरिने बताए ।

कमेन्ट गर्नुहोस्