एसिया–११ टिममा दिल्ली क्यापिटल्सका ३ क्रिकेटर

काठमाडौंः बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) द्वारा आयोजना गरिने दुई खेलको टी–२० सिरिजका लागि घोषणा गरिएको एसिया–११ मा आइपीएलको फ्रेन्चाइज टीम दिल्ली क्यापिटल्सका तीन खेलाडी समावेश भएका छन् । दिल्लीबाट आइपीएल खेल्ने शिखर धवन, ऋषभ पन्त र सन्दीप लामिछाने एसिया–११ मा समावेश भएका हुन् ।

एसिया–११ टीममा अटाउन सफल भएको भन्दै दिल्ली क्यापिटल्सले तिनै खेलाडीलाई बधाईका साथै शुभकामना दिएको छ ।

बीसीबीले आज एसिया–११ का साथै विश्व–११ टीमको पनि घोषणा गरेको छ । बीसीबी आफ्ना संस्थापक शेख मुजीबुर रहमानको जन्म शताब्दीमा अवसरमा यो सिरिज आयोजना गर्न लागेको हो ।

सिरिजमा विश्व क्रिकेटका स्टार खेलाडीको सहभागिता रहने छ । यो टी–२० सिरिज १८ मार्च देखि २१ सम्म शेरे बंगला राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । एसिया–११ मा विराट कोहली, शिखर धवन, केएल राहुल, लसिथ मलिंगा, सन्दीप लामिछाने लगायत स्टार क्रिकेटर छन् ।

यता विश्व–११ मा क्रिस गेल, एलेक्स हेल्स, निकोलश पूरन, रस टेलर, फाफ डू प्लेसिस, किरण पोलार्ड जस्ता लोकप्रिय क्रिकेटर छन् ।

एसिया–११ टीममा पाकिस्तानी क्रिकेटरले किन पाएनन् मौका?

भारतीय पत्रिका दैनिक जागरको अनलाइन संस्करणका अनुसार टोली घोषणा गर्नुपूर्व बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतीय कन्ट्रोल बार्ड (बीसीसीआई) लाई एसिया–११ टीमका लागि एक पत्र पठाएको थियो । उक्त पत्रपछि बीसीसीआईले बीसीबीलाई पाकिस्तानी क्रिकेटर एसिया–११ टीममा राख्न नहुने शतर्कसहितको पत्र ‘रिप्लाई’ गरेको थियो ।

बीसीसीआईको शर्त मान्दै बंगलादेश क्रिकेट बोर्डले पाकिस्तानी क्रिकेटरलाई एसिया–११ मा समावेश गरेन । यद्यपि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भने पाकिस्तान सुपर लिग (पीएसएल) को कारण देखाउँदै एसिया–११ मा खेलाडीको नाम नपठाएको बताएको छ । पाकिस्तानी क्रिकेटरले सहभागिता जनाउने नपाउने भएपछि वर्तमान टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका नम्बर वान ब्याट्सम्यान बाबर आजम एसिया–११ मा पर्न असफल भएका छन् ।

विश्व–११ को टीमः एलेक्स हेल्स, क्रिस गेल, फाफ डू प्लेसिस ९कप्तान०, निकोलस पूरन, रस टेलर, जोनी बेयस्टो, किरण पोलार्ड, आदिल रशीद, शेल्डन कोट्रेल, लुंगी एन्गिडी, एड्र्यू टाय र मिचेल म्याक्लेनाघन ।

एसिया–११ को टीमः केएल राहुल, शिखर धवन, विराट कोहली, तमीम इक्बाल, लिटन दास, ऋषभ पन्त, मुस्फिकुर रहीम, थिसरा परेरा, राशीद खान, मुस्ताफिजुर रहमान, सन्दीप लामिछाने, लसिथ मालिंगा, मोहमद शामी, कुलदीप यादव र मुजिब उर रहमान ।

कमेन्ट गर्नुहोस्