टी–२० सिरिजः हङकङद्वारा मलेसियालाई १७२ रनको लक्ष्य

काठमाडौंः टी–२० क्रिकेट सिरिजको अन्तिम तथा पाँचौ खेलमा पाहुना टोली हङकङले मलेसियालाई १ सय ७२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनायो ।

उसका लागि किन्चित शाहले उत्कृष्ट ब्याटिङ गरे । उनले ४६ बलमा एक छक्का र ९ चौका प्रहार गर्दै ७२ रन बनाए । यस्तै कप्तान ऐजाज खानले ४४, शाहिद वासिफले ३०, निजाकत खानले १२ रनको योगदान दिए ।

बलिङमा मलेसिया टीमका स्याजारुल इद्रस र खिजार हयातले २–२ विकेट लिए । पाँच खेलको सिरिजमा मलेसियाले ४–० को अग्रता बनाएको छ ।

इस्टर्न रिजन कप खेल्नुअघि हङकङ र मलेसिया टी–२० सिरिज खेलिरहेका हुन् । इस्टर्न रिजन कप फेब्रुअरी २९ देखि मार्च ७ सम्म थाईल्याण्डमा सुरु हुँदैछ । यो प्रतियोगितामा इस्टर्नबाट मलेसिया, हङकङसहित नेपाल सिंगापुर, थाइल्याण्डले पनि सहभागिता जनाउने छन् । चीन, म्यानमार र भुटानले भने कोरोना भाइरसका कारण यो प्रतियोगिता नखेल्ने भएका छन् ।

नयाँ खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा २९ फेब्रुअरीमा मलेसियासँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेलमा १ मार्चमा हङकङसँग, तेस्रो खेलमा ४ मार्चमा थाईल्याण्ड र अन्तिम खेलमा ६ मार्चमा सिंगापुरसँग खेल्ने छ ।

प्रतियोगिताको शिर्ष २ टीम एसिया कप छनोटमा प्रवेश गर्ने छन् । तीन टीमले सहभागीता नजाउने भए पनि खेल राउन्ड रोबिनमा हुने भएको छ ।

कमेन्ट गर्नुहोस्