राष्ट्रपति सहभागी हुने भएपछि ‘शुक्लाफाँटा पर्यटन महोत्सव’ विशेष कार्यक्रम भव्य बनाउने तयारी

कञ्चनपुरः राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवको आठौं दिनलाई भव्य बनाउने गरी तयारी सुरु गरिएको छ । महोत्सव आयोजक भीमदत्त नगरपालिकाले मझगाउँस्थित विमानस्थलमा राष्ट्रपति भण्डारीको उपस्थितिमा महोत्सवको विशेष समारोह आयोजना गर्न लागेको हो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट राष्ट्रपति सहभागी हुने विशेष कार्यक्रमलाई भव्य बनाउन सबै सरोकारवालासित सहकार्य र समन्वय गरी भव्य बनाउने गरी तयारीमा लागेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्रवेशद्वारा नजिक मैदानमा गरिएको कार्यक्रमलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा भीमदत्त नगरपालिकाले राष्ट्रपति भण्डारीलाई उच्च सम्मानसहित स्वागत गर्ने कार्यक्रम बनाइएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहित विभिन्न पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि गरिएको शुक्लाफाँटा पर्यटन महोत्सवको आठौं दिन राष्ट्रपति सहभागी भएर सम्बोधन गर्ने बताए ।

‘पर्यटकीय क्षेत्रको प्रर्वद्धनका लागि तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको छ, महोत्सवको आठौं दिन शुक्रबार सम्मानिय राष्ट्रपति विद्यादेबी भण्डारीज्यूले सम्बोधन गर्ने छ’ नगर प्रमुख विष्टले भने, ‘राष्ट्रपतिज्यू सहभागी हुने कार्यक्रमलाई विशेष बनाउन सबै सरोकारवासित छलफल, समन्वय र सहकार्य गरी अघि बढेका छौ ।’

राष्ट्रपति सहभागी विशेष कार्यक्रमलाई भव्य बनाउन बुधबार सुदूरपश्चिम प्रदेशका सभासद्हरु सहित विभिन्न क्षेत्रसित तयारीका लागि छलफल गरिएको छ । छलफलमा सहभागी सबैले राष्ट्रपति सहभागी कार्यक्रमलाई भव्य बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको भ्रमणमा आएकी राष्ट्रपति भण्डारी डडेल्धुरा, दार्चुला र बैतडी हुँदै शुक्रबार कञ्चनपुर आउन लागेकी हुन् । राष्ट्रपति भण्डारी शुक्रबार दिउँसो १ बजे मझगाउँ विमानस्थलको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको छ । कैलालीको धनगढीमा सुरु भएको विश्व नेपाली साहित्य महोत्सव उद्घाटनका लागि बुधबार राष्ट्रपति भण्डारी धनगढी पुगेकी छन् ।

स्थानीय तह निर्वाचनपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि गत वर्षदेखि तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्ष राष्ट्रिय निकुञ्ज घोषणा गरिएको फागुन ९ गतेका दिन महोत्सव आयोजना गरिएको हो । स्थानीय तह निर्वाचनपछि निजी क्षेत्रबाट सुरु गरिएको महोत्सवलाई नगर प्रमुख विष्टले विभिन्न स्थानीय तह सहित सरोकारवाला निकायसित सहकार्य गरी निरन्तरता दिएका हुन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसारमा पत्रकार सम्मेलन फागुन ९ गते महोत्सवको उद्घाटन गरिएको थियो । सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर सुनारको प्रमुख आतिथ्यमा महोत्सवको उद्घाटन कार्यक्रम गरिएको थियो ।

महोत्सव अन्र्तगत हालसम्म अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक सहित विभिन्न क्षेत्रका व्यक्तिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन् । अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले पहिलो पटक सामूहिक रुपमा निकुञ्ज भ्रमण गरेका हुन् ।

ज्येष्ठ नागरिकहरुले बुधबार शुक्लाफाँटा भ्रमण गरेका हुन् । नगरपालिका कार्यालमा नगर प्रमुख विष्टले ज्येष्ठ नागरिकहरुलाई निकुञ्ज भ्रमणका लागि विदाई गरेका छन् । महोत्सवमा राष्ट्रपति भण्डारी सहभागी कार्यक्रमको सुरक्षालाई प्रभावकारी बनाउन स्थानीय प्रशासन आन्तरिक तयारीमा जुटेको छ । प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले राष्ट्रपतिको सुरक्षार्थ तयारी थालिएको बताए । ‘सुरक्षा निकायका सबै युनिटलाई परिचालन गरिन्छ’ प्रमुख जिल्ला अधिकारी खतिवडाले भने ।

यसैबीच महोत्सव आयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले राष्ट्रपति सहभागी महोत्सवको विशेष कार्यक्रमलाई सफल बनाउन सबै नगर वासिन्दा, उद्यमी व्यवसायी, बुद्धिजीवि, नागरिक समाज, राष्ट्र सेवक कर्मचारी सबैमा हार्दिक आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्