अन्तिम खेलमा दक्षिण अफ्रिकाको फराकिलो हार, टी–२० सिरिज अष्ट्रेलियाले जित्यो

काठमाडौंः दक्षिण अफ्रिकासँगको तीन खेलको टी–२० सिरिज अष्ट्रेलियाले जितेको छ । अन्तिम खेलमा बुधबार राति दक्षिण अफ्रिकालाई ९७ रनले हराउँदै अष्ट्रेलियाले सिरिज २–१ ले जितेको हो ।

सिरिजको अन्तिम खेलमा १ सय ९४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १५.३ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । उसका लागि रस्सी भान डर दुसेनले २४, हेनरिक क्लासेनले २२, डेविड मिलरले १५ र ड्वाइन प्रिटोरियसले ११ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा अष्ट्रेलिया टीमका मिचेल स्टार्क, एश्टन एगरले ३–३, एडम जम्पाले २, मिचेल मार्श र प्याट कमिन्सले एक–एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनायो ।

उसका लागि डेविड वार्नरले ५७, कप्तान आरोन फिन्चले ५५, स्टिभ स्मिथले अविजित ३०, मिचेल मार्शले १९ र म्याथ्यू वेडले १० रन बनाए । बलिङमा दक्षिण अफ्रिका टीमका ५ बलरले समान एक–एक विकेट लिए ।

टी–२० श्रृंखलापछि अष्ट्रेलिया र दक्षिण अफ्रिकाले तीन खेलको वानडे सिरिज खेल्दै छन । यी दुई टीमबीचको तीन म्याचको वानडे सिरिज शनिबारदेखि सुर हुनेछ ।

कमेन्ट गर्नुहोस्